तीन वर्षको एक अमेरिकी कुकुरले गिनिज बुकमा नाम लेखाएको छ । लु नामको उक्त पोथी कुकुरले संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रुपमा विश्व कीर्तिमान कायम गरेको हो ।
उक्त कुकुरका कानका लोती यति लामा छन् कि झ्वाट्ट हेर्दा लाम्काने बाख्राका जस्ता देखिन्छन् । कानका लोतीको लम्बाई १३.३८ इन्च छ ।
पेइज ओल्सेन नामकी महिलाले घरमा पालेको उक्त कुकुरको लोती लामो देखिए पनि उनले नापेकी थिइनन् । तर जब महामारीका कारण घरमै बस्नुपर्दा उनीसँग पर्याप्त समय भयो तब ओल्सेनले आफ्नो कुकुरको कान नाप्न थालिन् । कुकुरको कानको नाप अस्वभाविक पाएसँगै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा निवेदन दिइन् ।
निकै लामो कान भएपनि कुकुरलाई कुनै अप्ठेरो नभएको उनी बताउँछिन् । उनले हरेक महिना कुकुरको कानको जाँच गराउँछिन् । ओल्सेन आफैं पशु चिकित्सक पनि हुन् ।
संसारकै लामो कान भएको कुकुर लगायतका कीर्तिमानलाई गिनिज बुकले २०२२ को नयाँ संस्करणमा समावेश गरेको छ ।