बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुराको विकट बिच्छ्यामा ‘फोरजी’ सेवा सञ्चालन

बाजुराको विकट बिच्छ्यामा ‘फोरजी’ सेवा सञ्चालन

  • शनिबार, बैशाख १९, २०८३
सेयर गर्नुहोस् :
बाजुराको विकट बिच्छ्यामा  ‘फोरजी’ सेवा सञ्चालन

बाजुरा–बाजुराको सर्वाधिक विकट बिच्छ्यामा फोरजी सेवा जडान गरिएको छ । जिल्लाकै विकट हिमाली गाउँपालिका २ बिच्छ्या कोटको माथि ठुलाचौरमा रहेको नेपाल टेलिकमको टावरमा फोरजी सेवा जडान गरिएको हो ।

नेपाल टेलिकम बाजुराका प्रमुख ई. ईश्वर सिंह, टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका इन्जिनियर सुदर्शन आचार्य लगायतका प्राविधिकको टोलीले बिच्छ्या टावरमा फोरजी सेवा जडान गरेको जनाएको छ ।

लामो समयदेखि फोन नेटवर्कको समस्या झेलिरहेको बिच्छ्याबासीहरुलाई अब फोरजी सेवा विस्तार भएसँगै सहजता भएको स्थानीय धनमल थापाले बताए । यसअघि फोन गर्न पनि अग्ला डाँडाकाँडा धाउनु पर्ने बाध्यता रहेकोमा टेलिकमले सेवा विस्तार गरसँगै फोरजी चल्न थालेको उनले बताए । उक्त टावरमा फोरजी सेवा जडान भएसँगै हिमाली १,२ र ३ का कोट, नेटा, रुम्दी, बौडी, युना, टिन, क्युडी लगायतका गाउँमा फोरजी सञ्चालनमा भएका स्थानीहरुले बताएका छन् ।

बढ्दो सूचना प्रविधिको प्रयोगसँगै दुर्गम क्षेत्रमा नागरिकहरुलाई सहज सञ्चार सेवा उपलब्ध गराउन बिच्छ्यामा पहिलोपटक फोरजी सेवा सञ्चालनमा आएको नेपाल टेलिकम बाजुराका प्रमुख ई. ईश्वर सिंहले बताए । बिच्छ्या टावरमा फोरजी सेवा जडान गरेसँगै त्यस क्षेत्र आसपासका गाउँमा सहज रुपमा फोरजी चल्न थालेको छ भने अब लगत्तै उक्त टावरमा बिजुली जोड्न तयारी भइरहेको उनले बताए । फोरजी जडान गरिएको बिच्छ्या टावरले कुन ठाउँसम्म काम गर्छ, त्यसपछि स्थानीयहरुको प्रतिक्रियापछि नेटवर्कको समस्या रहेका अन्य क्षेत्रमा पनि टावर राख्ने तथा सेवा विस्तार गरिने टेलिकम प्रमुख सिंहले बताए । त्यस्तै उनले अहिले बिच्छ्याँसगै जिल्लाका अन्य ठाउँका टावर पनि मर्मत तथा जडान गरेसँगै पहिलेको भन्दा नेटवर्क र फोरजीमा सुधार आएको उनले बताए ।

यस्तै हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बिच्छ्या टावरमा फोरजी सेवा जडान गरेपछि त्यस क्षेत्रका नागरिकहरुलाई ठुलो राहत भएको बताएका छन् । उनले अहिले गुम्बा र कुवाडीमा फोन नेटवर्कको समस्या रहेको भन्दै गाउँपालिकाभर नेटवर्कको समस्या समाधान गर्न तथा सहज रुपमा फोन लाग्ने अवस्था बनाउन ८ वटा टेलिकम टावर आवश्यक रहेको बताए । यस्तै अहिले पालिकाका विभिन्न वडामा ७ वटा टावर निर्माण गरिएका भए पनि केही जडान गर्न बाँकी र धेरैजसोमा विद्युत नहुँदा समस्या भइरहेको बताए । गाउँपालिकाको वडा नम्बर ३ गुम्बामा हालसम्म पनि फोन लाग्दैन भने बिच्छ्याको टावरले त्यहाँ काम नगर्दा त्यसका लागि गुम्बामै टावर राख्नु पर्ने गाउँपालिका अध्यक्ष मल्लले बताएका छन् । गुम्बामा फोन नलाग्दा स्थानीयहरुले सास्ती भोगिरहेका छन् भने पर्यटकीय क्षेत्र रानीसैन जाने आउने पर्यटकहरुलाई समेत समस्या भइरहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार