
बाजुरा —कक्षा १२ को परीक्षा सोमबारदेखि सञ्चालन हुँदै छ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा सकिएको डेढ महिना (४५ दिन) भित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ । २७ वैशाखमा परीक्षा सकिनेछ ।
बोर्डका अनुसार कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ परीक्षार्थी छन् । तीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १ सय ३७ छात्रा र २९ जना अन्य छन् । आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी सहभागी हुँदै छन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् । जापानको एभरेस्ट स्कुलबाट पनि ३९ विद्यार्थीले परीक्षा दिँदै छन् । गत वर्षको तुलनामा परीक्षार्थीको संख्या घटेपछि परीक्षा केन्द्रको संख्या पनि कम गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार यो वर्ष १ हजार ४ सय २१ परीक्षा केन्द्र तोकिएका छन् ।
कक्षा १२ को परीक्षा गराउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी ४४ हजार ३ सय ४ जना परिचालन गरिएको जनाएको छ । उत्तरपुस्तिकासहित परीक्षा सामग्री परीक्षा केन्द्रहरूमा पठाइएको परीक्षा नियन्त्रक शर्माले बताए । प्रश्नपत्र भने कोभिड महामारीदेखि नै अनलाइनबाट पठाउन थालिएको छ । परीक्षा सञ्चालन हुने दिन नै अनलाइनबाट प्राप्त प्रश्नपत्र परीक्षा केन्द्रमा प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षसहित केन्द्रमा खटिने प्रहरीको रोहबरमा प्रश्नपत्र ‘डाउनलोड’ र ‘प्रिन्ट’ गरी वितरण गरिन्छ ।
बाजुराबाट एक हजार ३८४ विद्यार्थी सहभागी
यस बर्षको कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार ३ सय बढी विद्यार्थीहरु सहभागी भएका छन् । २०८३ वैशाख १४ गतेदेखि सुरु हुने बार्षिक परीक्षामा एक हजार ३८४ जना विद्यार्थी सहभागी भएका हुन् । जिल्लाभर कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि ८ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
डेढ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी
प्रधानमन्त्री वालेन्द्र शाह र शिक्षामन्त्री सस्मित पोखरेलले डेढ महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएअनुसार परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनको तयारी गरिएको सदस्यसचिव जंगबहादुर अर्यालले बताए । ‘उत्तरपुस्तिका परीक्षण केन्द्र थप्छौं । त्यहीअनुसार मातहतका निकायमा परिपत्र गर्दै छौं,’ उनले भने, ‘चाँडो नतिजा प्रकाशन गर्न सबै संयन्त्र परिचालन हुन्छन् ।’ उत्तरपुस्तिका परीक्षण गत वर्ष जस्तै बोर्डले तोकेको केन्द्रमा मात्र गरिनेछ । यसअघि ९० दिन (३ महिना) भित्र नतिजा प्रकाशन हुँदै आएको थियो । कक्षा १० (एसईई) को उत्तरपुस्तिका भने यो वर्ष परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो । एसईईको नतिजा परीक्षा सकिएको १ महिना (वैशाख मसान्त) भित्रै प्रकाशन गर्ने तयारी छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांक ‘इन्ट्री’ र रुजुको काम भइरहेको छ ।


