
लक्ष्मीराज पाध्याय/बाजुरा– बडिमालिका नगरपालिका–७ ढम्कनेमा निर्माणाधीन कालाजग्रा पार्क पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बडिमालिका नगरपालिकाको साझेदारीमा करिब ७ करोड रुपैयाँ लागतमा निर्माण गर्ने लक्ष्य राखिएको उक्त योजना बजेट अभावका कारण अलपत्र परेको हो ।
कालाजग्रा पार्क तथा पदमार्ग निर्माणका लागि २०७८ सालमै काम सुरु गरिएको भए पनि हालसम्म निर्माण कार्यले गति लिन नसकेको कालाजग्रा पर्यटन प्रवद्र्धन समितिका सचिव रामबहादुर धामीले जानकारी दिए । उनका अनुसार पार्क निर्माणको जिम्मा प्याराटाइज आवरण जेभी, चितवनलाई दिइएको थियो र २०७८ माघ ३ गतेबाट औपचारिक रूपमा काम थालिएको भए पनि संघिय मन्त्रालयबाट आउने बजे नआएपछि अलपत्र परेको बताए । नगरपालिकाले ८० लाख भुक्तानी गरि केही संरचना र अन्य निर्माण गरिए पनि बाकी काम अलपत्र रहेको सचिव धामीको भनाई रहेको छ ।
सरोस्वती आधारभूत विद्यालयको पछाडि करिब २२ रोपनी क्षेत्रफलमा पार्क र कालाजग्रा जाने पदमार्ग निर्माण गर्ने योजना अघि बढाइएको थियो । तर आवश्यक बजेट समयमा उपलब्ध नहुँदा काम अलपत्र परेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । “नगरपालिकाले आफ्नो तर्फबाट दिनुपर्ने बजेट उपलब्ध गराइसकेको छ, तर संघीय सरकारबाट आउने बजेट नआउँदा काम रोकिएको हो,” उनले भने । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने गरी महत्वपूण आयोजनाका रुपमा फनपार्क निर्माणलाइ उच्च प्राथमिकतामा राखेर गाउँलाइ समृद्ध बनाउने उदेस्यका साथ सो कार्यको थालनि गरिएको भए पनि योजनाले सार्थकता नपाएको वडाअध्यक्ष पाध्यायको भनाई रहेको छ ।
बडीमालिका ७ का वडासदस्य लोकेन्द्र रोकायाका अनुसार मार्तडी–कोल्टी सडकखण्ड नजिकै निर्माणाधीन पार्क अलपत्र हुँदा यस क्षेत्रको पर्यटन विकासमा प्रत्यक्ष असर परेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यो पार्कबाट नजिकै रहेका कालाजग्रा धार्मिक तथा पर्यटकीय क्षेत्र, पोरेखे लेक तथा मार्तडी–कोल्टी क्षेत्रको अवलोकन गर्न सकिने योजना थियो । खप्तड, छेडेदह, रारा, बडिमालिका र बुढीनन्दा क्षेत्रलाई जोड्ने मध्यबिन्दुका रूपमा रहेको यस स्थानले आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको गरिएको भए पनि योजवना अधुरो हुदा पुर्णता नवपाउने भएको उनको भनाई रहेको छ ।
परियोजना अनुसार पार्कभित्र तीनवटा प्रशासनिक भवन, आकर्षक बिधुतसहितका संरचना, अतिथि गृह, तातो–चिसो पानीसहितको होटल, वनभोजस्थल, बगैँचा, बालबालिकाका खेल सामग्री, पसल, टिकट काउन्टर तथा शौचालय लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको थियो । प्रारम्भमा ७ करोड लागत अनुमान गरिएको योजना ठेकेदार कम्पनीहरुको घटिघटाउ पछि करिब ४ करोडमा ठेक्का सम्झौता गरिएको जनाइएको छ ।
पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारी सिर्जना तथा नगरपालिकाको आन्तरिक आय वृद्धि गर्ने लक्ष्यका साथ सुरु गरिएको यो योजना अपेक्षित रूपमा अघि बढ्न नसकेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। बहुउपयोगी र सम्भावनायुक्त यस योजनालाई छिटो सम्पन्न गर्न सम्बन्धित निकायले छिटो पहल गर्न माग गरेका छन ।


