
बाजुरा–मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण करिब पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा तथा यात्रुहरू हरेक वर्ष, विशेषगरी वर्षायाममा, सास्ती खेप्न बाध्य भएका छन् ।
निर्माण कार्यमा ढिलासुस्ती भएको गुनासो बढेपछि बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण कम्पनीलाई काम शीघ्र सम्पन्न गर्न कडा निर्देशन दिँदै अल्टिमेटम समेत दिइएको छ ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले विकास निर्माणका काममा ढिलासुस्ती हुनु गम्भीर विषय भएको बताए । उनले ठेकेदार कम्पनीले जिम्मेवारीपूर्वक समयमै काम सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै अब पनि लापरबाही जारी रहे सम्बन्धित निकायमार्फत कडा कारबाही अघि बढाइने चेतावनी दिए । साथै, अनुगमनलाई निरन्तरता दिइने र कामको प्रगति नजिकबाट नियालिने उनले बताए ।
सम्झौताअनुसार १६ महिनाभित्र सम्पन्न गर्नुपर्ने पुल हालसम्म पूरा हुन नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी निरौलाले निर्माण कम्पनीलाई जिम्मेवार ढंगले काम गर्न निर्देशन दिएका छन् । उनले अब पनि प्रगति नभए कानुनी कारबाहीका साथै कालोसूचीमा राख्न सिफारिस गरिने चेतावनी दिएका छन् । उनका अनुसार आगामी तीन महिनाभित्र उल्लेखनीय प्रगति नभए कडा कदम चालिनेछ ।
सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत पर्ने उक्त पुलको हालसम्म करिब २१ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयका इन्जिनियर देबेन्द्र स्वारले जानकारी दिए । उनका अनुसार ठेकेदारको चरम लापरबाहीका कारण निर्माण कार्य प्रभावित भएको हो ।
पुल निर्माणका लागि प्रयोग गरिएका केही सरिया खोलाको बहावका कारण क्षतिग्रस्तसमेत भएको बताइएको छ । धनगढी, कैलालीस्थित टिडिआर–जुगल कौशिक जेभीले २०७८ कार्तिक १५ गते पाँच करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा सम्झौता गरी २०७८ फागुन १५ भित्र निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो । तर सम्झौताको अवधि सकिएको लामो समय बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन ।
निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि काममा सुधार नदेखिएपछि पुन आर्थिक वर्ष २०८२ फागुन ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो। तर हालसम्म पनि उल्लेखनीय प्रगति हुन सकेको छैन। कार्यालयका अनुसार हालसम्म ९० लाख ५६ हजारभन्दा बढी रकम भुक्तानी भइसकेको छ ।
पुल नहुँदा पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तहका बासिन्दा, बडीमालिका–७ का नागरिक तथा छिमेकी जिल्लाहरू हुम्ला, मुगु र कालिकोटका सर्वसाधारणसमेत प्रभावित भएका छन् । बडीमालिका नगरपालिका–८ का स्थानीय मानबहादुर ऐडीका अनुसार पुल नहुँदा विशेषगरी वर्षायाममा यातायात आवतजावतमा निकै समस्या हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले बाउली खोलाको पुल मात्र नभई जिल्लामा अधुरा रहेका अन्य निर्माण आयोजनाहरू पनि यथाशीघ्र सम्पन्न गराउन ठेकेदार कम्पनीहरूसँग समन्वय र सहकार्य भइरहेको जनाएको छ ।
यसैबीच, बाउली खोला नजिकै रहेको अनाई खोलामा निर्माण गरिएको पक्की पुल भने सम्झौता भएको एक वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यसले समयमै काम सम्पन्न भए विकास निर्माण सम्भव हुने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ ।


