बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बडिमालिका बिशेष
  • फर्केर हेर्दा दुई दशकअघिको एसएलसी: बन्दुकको घेराभित्रको त्यो ‘फलामे ढोका’

फर्केर हेर्दा दुई दशकअघिको एसएलसी: बन्दुकको घेराभित्रको त्यो ‘फलामे ढोका’

  • बिहिबार, चैत्र १९, २०८२
सेयर गर्नुहोस् :
फर्केर हेर्दा दुई दशकअघिको एसएलसी: बन्दुकको घेराभित्रको त्यो ‘फलामे ढोका’

“ए भाई, पछाडि नफर्क!” झ्यालबाट आएको कडा आवाजले म झसंग भएँ। झ्यालमा हतियारधारी नेपाली सेनाका जवान थिए। जनयुद्ध रोकिए पनि पूर्ण शान्ति स्थापना भइसकेको थिएन। त्यो २०६२ साल चैत १० गतेको दिन थियो— मेरो एसएलसी (SLC) अन्तर्गत अङ्ग्रेजी विषयको परीक्षा।
कक्षा ६ देखि पढेको आफ्नै विद्यालय भए पनि ‘फलामे ढोका’ मानिने एसएलसीको डर नै बेग्लै थियो। त्यसमाथि हतियारसहितका सुरक्षाकर्मीले कहिले ढोका त कहिले झ्यालबाट चियाइरहँदाको मनोवैज्ञानिक दबाब बयान गरिसाध्य छैन। म डराउँदै सरासर अगाडि फर्केर लेख्न थालें।
त्रास र निगरानीबीचको परीक्षा
त्यो बेला एसएलसी दिनुअघि ‘टेस्ट परीक्षा’ उत्तीर्ण गर्नैपर्ने अनिवार्य नियम थियो। बाजुराको थापाथलीस्थित मालिका माध्यमिक विद्यालयमा जिल्लाभरिका विद्यार्थीको जमघट थियो। सुरक्षा व्यवस्था यति कडा थियो कि कतिपय विद्यार्थीलाई ‘विद्रोहीको एजेन्ट’ भएको आशंकामा कडा निगरानीमा राखिएको थियो।

No description available.
१४-१५ वर्षका बालकहरू बन्दुकको छायामुनि बसेर परीक्षा दिइरहेका थिए। अहिले सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ। होटलदेखि विद्यालयसम्म सुरक्षाकर्मीको पहरा हुन्थ्यो। हामी सदरमुकाम मार्तडी नजिकैका भएकाले धेरै सास्ती खेप्नु परेन, तर दूरदराजबाट आएका साथीहरूको अवस्था निकै कष्टकर थियो।
अङ्ग्रेजीको डर र ‘देविराम काण्ड’
मलाई सबैभन्दा बढी डर अङ्ग्रेजी विषयकै लाग्थ्यो। कक्षा ४ मा पुगेपछि मात्र ‘ABCD’ सिक्न सुरु गरेका हामीजस्ता ग्रामीण भेगका विद्यार्थीका लागि अङ्ग्रेजी पहाडजस्तै थियो। तैपनि हाम्रा शिक्षकको सहजीकरणले गर्दा जानेबुझेसम्म लेखियो।
हाम्रै पालामा सरकारी अनुगमन टोलीले बढी कडाइ गरेको भन्दै विद्यार्थी आन्दोलन चर्किएको थियो, जसलाई ‘देविराम काण्ड’ भनेर चिनिन्छ। तत्कालीन प्रमुख जिल्ला अधिकारी देविराम भण्डारीविरुद्ध नाराबाजी गर्दै हामी थापाथलीदेखि खुल्लामन्चसम्म पुग्यौं। प्रहरीले हानेको अश्रुग्यासले आँखा पोल्दा नहरको फोहोर पानीले मुख धोएको र त्यही पानी खाएको तीतो अनुभव अझै ताजा छ। खास कारण स्पष्ट नभए पनि ‘विद्यार्थी एकता’का नाममा हामी आन्दोलनमा होमिएका थियौं।
नतिजाको त्यो दिन र बदलिँदो समय
चैत १८ गते परीक्षा सकिँदा म कुनै चंगाझैं हलुका भएको थिएँ। १०-४ को स्कुले जीवनबाट मुक्ति पाएकोमा एकातिर खुसी थियो भने अर्कोतिर ‘अब के गर्ने?’ भन्ने चिन्ता। त्यो बेला एसएलसीपछि धेरैजसो साथीहरू कमाउन भारत (कालापहाड) जाने चलन थियो। मेरा धेरै साथीहरू उतै लागे, म भने घरमै बा-आमालाई सघाउन बसें।
असारको महिना थियो। रेडियो नेपालले दिउँसो २ बजेको समाचारमा एसएलसीको नतिजा प्रकाशित भएको जानकारी दियो। हाम्रो गाउँबाट हामी ६ जना (रण दाई, विक्रम दाई, दिल दाई, हिमाल, शान्ति दिदी, सीमा र म) सामेल थियौं। कोही पहिलो चरणमा त कोही पूरक परीक्षाबाट उत्तीर्ण भयौं। सम्भवतः हाम्रो गाउँबाट एकैपटक यति धेरै विद्यार्थीले एसएलसी उत्तीर्ण गरेको त्यो पहिलो अवसर थियो।
त्यसको केही समयपछि २०६३ मंसिर ५ गते ‘विस्तृत शान्ति सम्झौता’ भयो र देशमा १० वर्षे जनयुद्धको विधिवत् अन्त्य भई शान्ति छायो।
SLC बाट SEE सम्मको यात्रा
मुलुकको राजनीति फेरिएसँगै शिक्षा प्रणाली पनि फेरियो। हिजोको ‘School Leaving Certificate’ (SLC) सन् २०१६ देखि ‘Secondary Education Examination’ (SEE) मा रूपान्तरण भयो। हिजो ‘फलामे ढोका’ भनिने यो परीक्षा आज ‘अटो ढोका’ जस्तै सहज बनेको छ। प्रविधिको विकासले विद्यार्थीहरूका लागि अवसर र प्रतिस्पर्धाको क्षितिज फराकिलो बनाइदिएको छ।
आजबाट सुरु भएको SEE परीक्षामा सहभागी भाइबहिनीहरूलाई २० वर्षअघिको एक परीक्षार्थीका तर्फबाट हार्दिक सफलताको शुभकामना! जीवनमा परीक्षाका स्वरूपहरू बदलिरहन्छन्, तर धैर्यताका साथ सामना गर्नु नै वास्तविक सफलता हो।

चर्चामा

सम्बन्धित समाचार