
बाजुरा— हिमाली जडिबुटीहरूको संरक्षण, दिगो संकलन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बाजुराकाे सदरमुकाम मार्तडीमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। UK International Darwin Initiative को आर्थिक सहयोगमा तथा TRAFFIC, ANSAB नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाजुरा (FECOFUN) को सहकार्यमा सञ्चालित “हिमाली जडिबुटीहरूको संरक्षण र दिगो व्यापार” परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी व्यवस्था (CITES), हिमाली जडिबुटीहरूको स्रोत सर्वेक्षण, संकलन तथा दिगो व्यापारका प्रक्रिया, चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। साथै Non-Detriment Findings (NDFs) लगायत आवश्यक प्राविधिक तथा कानुनी प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। हिमाली जडिबुटीकाे दिगो संरक्षण र व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा तालिमकाे आयाेजना गरिएकाे हाे । उक्त कार्यक्रमले स्थानीय समुदायको जीविकोपार्जनसँग संरक्षणलाई जोड्ने उद्देश्य राखेको आयाेजकले जनाएकाे छ।
अध्यक्ष सिता बराल थापाले आफ्नो मन्तव्यमा हिमाली क्षेत्रका जडीबुटी तथा प्राकृतिक स्रोतहरू स्थानीय समुदायका लागि महत्वपूर्ण आम्दानीको आधार भए पनि दिगो व्यवस्थापन अभावमा ती स्रोत संकटमा पर्दै गएको बताइन्। उनले भनिन्, “हामीले संरक्षण र उपयोगबीच सन्तुलन कायम गर्न सके मात्रै यी स्रोतहरू दीर्घकालीन रूपमा उपयोगी बन्न सक्छन्। यस्ता तालिमले स्थानीयलाई ज्ञान र सीप प्रदान गर्दै दिगोपनामा सहयोग पुर्याउँछ।” साथै उनले स्थानीय सरकार र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइन्।
कार्यक्रममा फेकोफन बाजुराकी अध्यक्ष सीता बराल थापाको अध्यक्षतामा संचालन गरिएकाे थियो। उद्घाटन सत्रमा उपाध्यक्ष मान बहादुर रोकायाले स्वागत मन्तव्य व्यक्त गर्दै हिमाली जैविक स्रोतको संरक्षण अहिलेको आवश्यकता भएको बताए।
कार्यक्रम सञ्चालन सन्तोष शाहीले गरेका थिए भने कार्यक्रमकाे फेकाेफन बाजुराका बन अधिकृत चेतराज जोशीले सहभागीहरूलाई वनस्पति तथा ढुसीको पहिचान, संरक्षणका उपाय, दिगो संकलन तथा बजार व्यवस्थापनका विषयमा प्रशिक्षण गरीरहेका छन । उनले अनियन्त्रित संकलन र व्यापारले जैविक विविधतामा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै दिगो अभ्यास अपनाउन र हिमाली जडिबुटीकाे सरक्षणका साथै आयआर्जनमा कसरी जाेड्न सकिन्छ भन्ने बिषयमा सहजिकरण गरिने बताएका छन।
तालिममा स्थानीय समुदाय, वन उपभोक्ता समूहका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीयस्तरमा सचेतना बढाउने र आम्दानीका नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। आयोजकका अनुसार, यस्ता तालिममार्फत हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी तथा ढुसीको संरक्षणसँगै दिगो व्यापार प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।


