लक्ष्मीराज पाध्याय/बाजुरा– कुनै समय बाजुरा सदरमुकाम मार्तडी बजारलाई झिलिमिली बनाउने जिल्लाकै पहिलो विद्युत आयोजना हाल पूर्णरूपमा बन्द भएर अलपत्र अवस्थामा पुगेको छ । करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको बाजुरा साना जलविद्युत आयोजना बन्द भएको पाँच वर्ष बितिसक्दा पनि यसको संरक्षण र उपयोगबारे कुनै ठोस निर्णय हुन नसक्दा बन्द भएको हो ।
विक्रम संवत् २०४२ सालमा निर्माण सुरु भई २०४६ सालमा सञ्चालनमा आएको २०० किलोवाट क्षमताको उक्त आयोजना जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । करिब दुई करोड ५० लाख रुपैयाँ लागतमा फुजी कम्पनीले निर्माण गरेको यो आयोजना बाजुरा जिल्लाको विकासको एउटा महत्वपूर्ण आधार मानिन्थ्यो ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा सञ्चालनमा रहेको जिल्लाकै पहिलो विद्युत आयोजना बाजुरा साना जलविद्युत परियोजना पूर्णरूपमा बन्द हुदा स्थानिय निराश बनेका छन । परियोजनाबाट मार्तडी सदरमुकाम तथा हालको बडीमालिका नगरपालिका तथा तत्कालीन मार्तडी र जुगाडा गाविसका बासिन्दाले विद्युत सेवा पाउँदै आएका थिए ।
नागरिक समाजका अगुवाका अनुसार, “यो आयोजना बाजुराको विकासको प्रतीक जस्तै थियो । तर अहिले हेर्दा संरक्षणको अभावमा संरचना नै जोखिममा परेको छ।” लामो समयसम्म सदरमुकाम क्षेत्रमा उज्यालो दिने गरेको विद्युतगृह अहिले आफै थला परेको बिरामी जस्तै अवस्थामा रहेको नागरिक अगुवाको भनाई छ ।
विक्रम संवत् २०६६ सालमा नेपाल विद्युत प्राधिकरणबाट सञ्चालनको जिम्मेवारी त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले लिएको थियो । सहकारीका व्यवस्थापक दयाराम पण्डितका अनुसार सुरुमा करिब ७ सय घरधुरीले सेवा लिँदै आएकोमा सहकारीले विस्तार गरी २ हजार १ सयभन्दा बढी ग्राहकलाई विद्युत सेवा प्रदान गरेको थियो ।
तर पछि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन मार्तडीसम्म विस्तार भएपछि स्थानीय उत्पादनको विद्युत प्रतिस्पर्धामा पर्न नसकी आयोजना बन्द हुन पुगेको स्थानीयको भनाइ छ । सहकारीले २० वर्षका लागि सम्झौता गरेर सेवा सञ्चालन गरिरहेको भए पनि २०७८ माघ ४ गते सम्झौता खारेज गरी प्राधिकरणले स्वामित्व फिर्ता लिएपछि आयोजना पूर्णरूपमा बन्द भएको पण्डितले जानकारी दिए ।
स्थानीय सरोकारवालाहरूका अनुसार प्राधिकरणले सञ्चालन नगर्ने भए आयोजना स्थानीय तह वा अन्य निकायलाई हस्तान्तरण गर्नुपर्ने माग गरिएको छ । तर बन्द भएको पाँच वर्ष बितिसक्दा पनि मर्मत तथा संरक्षणका लागि कुनै पहल नभएको गुनासो उनिहरुको छ ।
विद्युतगृहसँगै जोडिएको नहरसमेत प्रयोगविहीन बनेको छ । गत आर्थिक वर्ष मात्र लाखौं रुपैयाँ खर्च गरेर मर्मत गरिएको नहर अहिले फेरि बिग्रिएको र त्यसमा ढल मिसिँदा मार्तडी बजार दुर्गन्धित बनेको स्थानीयको आरोप छ । यसले झाडापखाला लगायत सरुवा रोग फैलिने जोखिम बढाएको उनीहरूको भनाइ छ । स्थानीयका अनुसार नहरको उचित व्यवस्थापन नहुँदा बजारको सरसफाइमा समेत चुनौती थपिएको बताएका छन् ।
यसैबीच, द्वन्द्वकालमा २०६६ कात्तिक २० र पुस ४ गते तत्कालीन नेकपा माओवादीले २ पटक विद्युतगृहमा बम विस्फोट गराउँदा संरचनामा क्षति पुगेको समेत भए पनि सहकारीले आफ्नै लगानीमा संचालनमा ल्याएको थियो ।
बाजुराको पहिलो विद्युत आयोजनाको रूपमा रहेको साना जलविद्युत परियोजना पूर्वाधार मात्र होइन, जिल्लाको विकास यात्राको एउटा ऐतिहासिक चिन्ह पनि हो । यसको व्यवस्थापन गर्न नसक्दा अहिले यो आयोजना इतिहास बन्ने अवस्थामा पुगेको छ । यदि समयमै यसको संरक्षण र पुनःउपयोगको योजना नबनाइएमा करोडौंको लगानीसँगै बाजुराको ऊर्जा इतिहासको एउटा महत्वपूर्ण अध्याय हराउने देखिन्छ ।