
बाजुरा—बाजुराको जगन्नाथ गाउँपालिकाका एक दम्पत्ती यतिखेर अस्पतालको शैय्यामा छन् । जगन्नाथ–३ तलकोट बस्ने ३५ बर्षका पूर्वे ढोली र उनकी ३० बर्षीय श्रीमती विष्णु ढोली दुवै दम्पत्तीको खुट्टा भाँचिएर जिल्ला अस्पतालको शैय्यामा रहेका हुन् ।
करिब एक हप्ताअघि पूर्वे ढोलीको घर नजिकै खानेपानीको लाइन मर्मत गर्न लाग्दा एक्कासी लडेर दायाँ खुट्टा भाँच्चियो । लगत्तै उनी उपचारका लागि बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी अस्पतालमा पुगे । त्यहाँ चिकित्सकले खुट्टा भाँचिएको छैन् भने प्लास्टर गरी दियो । केही दिनदेखि उनी सोही अस्पतालमै उपचाररत थिए । तर पूर्वेलाई खुट्टाको घाउ निकै नहुँदै फेरी अर्को बज्रपात आइलाग्यो । उनकी श्रीमती विष्णु पनि घाइते भइन् । उनी यहीँ फागुन २६ गते घरबाट मावली घर सोही पालिकाको ढाडाकोट जादैँ थिइन् । बिच बाटोमा एक्कासी माथि भिरबाट खसेको ढुंगा लागेर दायाँ खुट्टा भाँचियो । पूर्वे श्रीमती विष्णुलाई ल्याएर उपचारका लागि जिल्ला अस्ूपतालमा पुगे । अहिले उनीहरु दुवै दम्पत्तीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
चिकित्सकहरुले दुवै दम्पत्तीको उपचार गर्न तथा विष्णुको खुट्टामा रड हाल्न ५० हजार बढी खर्च लाग्ने बताएका छन् । घरका मुली श्रीमान् श्रीमती दुवै जना घाइते भएर अस्पतालको शैय्यामा हुँदा घरपरिवारमा भने बिचल्ली छाएको छ । पूर्वेको घरमा एक छोरा र तीन छोरी र बुवा छन् । तीन महिनाकी छोरीलाई भने साथमा लिएर उपचारका लागि दुवै जना यता आएपछि परिवार अन्धकार जस्तै भएको छ ।
एकातिर आर्थिक अभावमा उपचार गर्न समस्या भएको छ, अर्कोतिर घरमा पनि बुवा पनि बिरामी हुँदा दैनिक छाक टार्न तथा छोराछोरीको पालनपोषण गर्न पनि धौधौ भएको पुर्वेले बताए । श्रीमतीको खुट्टामा हाल्न रड धनगढी, काठमाडौंबाट ल्याउनु पर्ने भएकाले आफूहरुसँग पैसा नहुँदा समस्या भएको भन्दै उनले सबैलाई सहयोगका लागि हारगुहार गरेका छन् । यसबारे थप जानकारी तथा सहयोगका लागि उनका आफन्त राजेन्द्र नेपालीलाई सम्पर्क नम्बर ९७६११७०४८५ मा फोन गरेर सहयोग समेत गर्न सक्नु हुनेछ ।


