शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • यौन स्वास्थ्य
  • सचेतनामूलक कार्यक्रम गर्दै बाजुरामा मनाइयो ३८ औं विश्व एड्स दिवस

सचेतनामूलक कार्यक्रम गर्दै बाजुरामा मनाइयो ३८ औं विश्व एड्स दिवस

  • सोमवार, मंसिर १६, २०८२
सचेतनामूलक कार्यक्रम गर्दै बाजुरामा मनाइयो ३८ औं विश्व एड्स दिवस

बाजुरा—हरेक बर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवस बाजुरामा पनि मनाइएको छ । “अवरोधहरु पार गरौ, एड्स प्रतिकार्य रुपान्तरण गरौ” भन्ने नाराका साथ सोमवार जिल्ला सदरमुकाम मार्तडीमा सचेतनामूलक कार्यक्रम गर्दै ३८ औं विश्व एड्स दिवस मनाइएको हो ।

स्वाथ्य कार्यालय बाजुराले विद्यालय तथा क्याम्पस स्तरमा सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेर विश्व एड्स दिवस मनाइएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले मार्तडी स्थित मालिका माध्यमिक विद्यालय र बाजुरा क्याम्पसमा एचआईभी तथा एड्स बारे जानकारी सहित अन्तरक्रिया कार्यक्रम गरिएको बताएका छन् । कार्यक्रममा जिल्ला अस्पतालका शम्भु भण्डारीले विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई एचआईभी तथा एड्स संक्रमण, लक्षण, त्यसबाट बच्ने उपाय तथा उपचार प्रक्रियाबारे जानकारी गराएका थिए । जिल्लाका विभिन्न स्थानबाट विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमार्फत एड्स सम्बन्धी जानकारी तथा सचेतना फैलाउन उदेश्यका साथ सचेतना र अन्तरक्रिया गर्दै विश्व एड्स दिवस मनाएको जनाएको छ । त्यस्तै कार्यक्रममा स्वास्थ्य कार्यालय बाजुराकी गंगा खत्रीले विश्वमा र नेपालमा एचआईभी तथा एड्सको अवस्थाबारे प्रस्तुतीकरण गरेकी थिइन् ।

एचआईभी तथा एड्स एक मानव इम्युनोडेफिशियन्सी भाइरस हो । एचआईभी संक्रमित व्यक्तिको शरीरबाट निस्कने केही तरल पदार्थको सम्पर्कबाट एचआईभी सर्छ । यस्तै असुरक्षित यौन सम्पर्क, सुई बाँड्ने, रक्तक्षेपण,आमाबाट बच्चासम्म लागयतका कारणले यो सर्ने गर्दैछ ।

त्यस्तै एचआईभीको कुनै ठोस उपचार नभए पनि, भाइरस संक्रमणको जोखिम कम गर्ने धेरै तरिकाहरू रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सुरक्षित यौन सम्पर्क, एक्सपोजर पूर्व रोकथाम, पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस, नियमित परीक्षण, यौन साझेदारहरूको संख्या सीमित गर्ने, सुई साझा नगर्ने, शिक्षा र चेतनामा वृद्धि जस्ता कुराहरुबाट यसको रोकथाम गर्न सकिने उनीहरुले बताएका छन् ।

एचआईभी तथा एड्स एउटा गम्भीर तर व्यवस्थित अवस्था हो । प्रारम्भिक पहिचान, निरन्तर उपचार र उचित हेरचाहको साथ, एचआईभी भएका व्यक्तिहरूले पूर्ण र स्वस्थ जीवन बिताउन सक्छन्। कन्डमको प्रयोग, प्रिइपी र नियमित परीक्षण जस्ता रोकथाम रणनीतिहरूले प्रसारणको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न सक्छ ।

चर्चामा

सम्बन्धित समाचार