टेक बहादुर बुढा– बाजुराको बडीमालिका नगरपालिकामा महिलाहरुलाई आत्मर्भिर बनाउन सिस्नु पाउडर तालिम सञ्चालन गरिएको छ । बडीमालिका नगरपालिका उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहभागीहरुले स्थानीय स्तरमा अत्याधिक पाइने सिस्नुलाई प्रशोधन गरेर पाउडर बनाउन गरेका छन् । उक्त तालिमको प्रशिक्षक कमला सुवेदीले गरी रहेकी छन् । यहीँ असार ७ गतेबाट सञ्चालन भएको उक्त तालिम १४ गतेसम्म सञ्चालन हुनेछ । तालिममा नगरपालिकाभित्रका २७ जना महिलाहरुको सहभागीता रहेको छ । स्थानीय महिलाहरुलाई आत्मर्भिर बनाएर व्यवसायिक बनाउदै आर्थिक रुपमा सशक्त बनाउने उदेश्यका साथ तालिम सञ्चालन गरिएको जनाएको छ ।
तालिमकी प्रशिक्षक कमला सुवेदीले सिस्नुको पाउडर व्यापारिक दृष्टिले मात्रै नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायिक रहेको बताइन् । उनले काठमाडौंबाट तालिम दिन बाजुरामा आएको भन्दै सिस्नुको पाउडर बनाउने तरिका, प्रशोधन, प्याकेजिङ र बजारीकरण लगायतका विषयमा तालिम दिइने गरेको बताइन् । त्यस्तै उनले सिस्नुलाई केबल वनमा पाइने झारका रुपमा मात्र नलिई यसको प्रशोधन सम्बन्धी तालिम लिएर व्यवसायिक रुपमा आर्यआर्जन गर्न सकिने बताइन् । सिस्नु पाउडरले ग्यास्टिक लगायतका करिब ४० वटा रोगहरुको निर्मूल गर्ने औषधिका रुपमा प्रशिक्षक सुवेदीले बताएकी छन् ।
प्रायः जिल्लाका सबै ठाउँमा पाइने सिस्नुको प्रशोधन, पाउडर उत्पादन सँगै यसको प्याकेजिङ र बजारीकरण सम्बन्धी महिलाहरुलाई दिइएको तालिमले व्यवसायिक बनाउने नगरपालिकाले जनाएको छ । उक्त तालिममा सहभागी लक्ष्मी नेपालीले आफूहरुलाई सीप सिकाएर आत्मर्भिर बनाउन तालिमको आयोजना गरेको भन्दै नगरपालिका परिवारलाई धन्यवाद दिइन् । उनले आफूहरुले तालिममा सिकेको सीप घरमा पनि प्रयोग गर्ने भन्दै सिस्नुको पाउडरलाई बजारीकरणमा पालिकाले सहयोग गर्नुपर्ने बताएकी छन् । त्यस्तै तालिमकी सहभागी कमला कार्कीले हाम्रो गाउँघरमा सिस्नु प्रशस्त पाइन्थ्यो तर खाने तरिका थाहा थिएन तर अहिले यस तालिममो यसको प्रशोधन, पाउडर बनाउने तरीका, बजारीकरणका विषयमा सिकिरहेको बताइन् ।
बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापाले विशेष गरी आर्थिक रुपले विपन्न महिलाहरुलाई सीप सिकाएर व्यवसायिक बनाउँदै आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरेको बताएकी छन् । उनले महिलाहरुलाई सीप सिकाएर आर्थिक रुपले शसक्त बनाउनका लागि नगरपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।
त्यस्तै नगर प्रमुख अमर बहादुर खड्काले स्थानीय स्तरमा पर्याप्त रुपमा पाइने कच्चा पदार्थको सदुपयोग गर्दै महिलाहरुलाई सीप सिकाएर व्यवसायिकतामा जोड्न तालिम दिइएको बताए ।
उनले सिस्नु टिप्ने, पाउडर उत्पादन, प्रशोधन, ब्राण्डिङसँगै यसको बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने बताए । त्यस्तै नगर प्रमुख खड्काले समाजमा व्यवसायीकतामा लगानी छैन भन्ने मान्यता रहेको भन्दै उनले जुन कुरामा सीप छ त्यसैमा पैसा रहेको बताए । उनले महिला तथा बेरोजगार युवाहरुलाई व्यवसायिक बनाउन सीपमूलक एवम् आयआर्जनका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई जोड दिइने बताए ।