गौरब विष्ट/बाजुरा– बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–७ मा अहिले फौजि कीराको संक्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्ला केही हप्ता यता यहाँका मकैबारीहरूमा फौजी किराको फौजदारी आक्रमण शुरु भएको हाे। स्थानीय किसान चित्रबहादुर विष्टले दुःख व्यक्त गर्दै भने, “हिजो साँझ हरियो मकै थियो, बिहान उठ्दा सबै कीराले खाइसके छ। उनका अनुसार मकै अहिले गाउँघरका धेरै किसानहरूको मुख्य खाद्यान्न हो। वर्षदिनको भर पर्ने बाली सखाप भएपछि किसानहरू दुखित भएका छन्। खेतमा हेर्न जाँदा हरियो देखिने मकै खप्पर मात्रै बाँकी देखिन्छ।
वडाभरका खेतमा अहिले उस्तै अवस्था छ। धेरै किसान खेततिर जान पनि डराउन थालेका छन्। “गएर हेर्दा झन् मन दुख्छ,” एक स्थानीय को भनाई छ। “फौजि कीरा नियन्त्रण गर्न विषादी छर्नुपर्छ, तर हाम्रो हातमा केही छैन,” किसानहरूको भनाइ छ, “यदि चाँडै समस्या समाधान भएन भने बाँकी खेत पनि सखाप हुने भएकाे स्थानियले बताए ।”
अबको केही दिनमा कीराको नियन्त्रण नभए पूरै गाउँको मकैबाली गुम्ने चिन्ता किसानहरूमा छ। सरकार र सम्बन्धित निकायले चाँडै कदम चाल्नुपर्ने माग उनीहरूले गरेका छन्। कीरा विशेषगरी मकैबालीमा आक्रमण गर्ने एक प्रकारको विनाशकारी कीरा हो, जसले मकैका हरिया पातहरू, बोटको टुप्पा र बिस्तारै पुरै बोट नै खाएर सखाप बनाइदिन्छ।
स्थानीय किसानहरूले भनेअनुसार, यो कीरा विशेषगरी रातको समयमा सक्रिय हुन्छ। साँझसम्म हरियाली देखिने मकैका बोटहरू बिहानसम्म सुक्खा र चुँडिएको अवस्थामा देखिन्छन्। फौजि कीराले यसरी मकैबारीमा एकै रातमा आक्रमण गर्दा किसानहरूले वर्षभर धान्ने मुख्य बाली गुमाएका छन्। जसका कारण उनीहरूको दैनिकीमा असर परेको छ र खाद्यान्न संकट निम्तिने सम्भावना बढेको छ।
मकै मध्यम पहाडी भेगका कृषकहरूको मुख्य बाली हो। यसले घरखर्च, पशुपालन र पारिवारिक पोषणमा महत्वपूर्ण भूमिका खेल्दछ। तर कीराको यसरी फैलिएको प्रकोपले उत्पादन मात्र होइन, किसानहरूको आत्मबलमा पनि चोट पुर्याएको छ।