बाजुरा—बाजुराको गौमुल गाउँपालिकाका सामुदायिक विद्यालयमा जेठ १ देखि ७ गतेसम्म विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाइने भएको छ । एकिकृत विकास समाज नेपालको सहयोगमा पालिकाका २६ वटा विद्यालयहरुमा एकसाथ कार्यक्रम सञ्चालन गरिने भएको हो ।
आइतवार वडा नम्बर ६ मा भएको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी रुपका कार्यान्वयन गर्न अभिमुखीकरणसँगै कार्ययोजना निर्माण गरिएको छ ।
सो कार्यक्रमको कार्ययोजनामा विद्यालय दिवा खाजा व्यवस्थापन तथा नियमितता, बाल क्लब पुनः गठन, स्वस्थकर दिवा खाजा व्यवस्थापनका लागि विद्यालय भान्छा कोठा निर्माण गरिने जनाएको छ । त्यस्तै विद्यालयमा अर्धबार्षिक रुपमा जुकाको औषधि खुवाउने, विद्यार्थीको स्वास्थ्य चेकजाँच, विद्यालय खानेपानी तथा सरसफाई संरचना मर्मत सम्भार गर्ने बताइएको छ ।
एकिकृत विकास समाज नेपाल (आइडीएस) पालिका प्राविधिक सहायक रुपा खड्काले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम वडा नम्बर ६ मा सम्पन्न भएको बताइन् । आइडीएसद्धारा पालिकाका विद्यालयमा सञ्चालित कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि वडाका सरोकारवालाहरुलाई अभिमुखीकरण दिइएको उनले बताएकी छन् ।
उक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रकाश रोकायाले विद्यालय स्वास्थ्य तथा पोषणका कार्यक्रमहरु प्रभावकारी भइरहेको र थप कार्यान्वयनका लागि सबैले लाग्नुपर्नेमा जोड दिएका छन् ।
वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा वडाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक, जनप्रतिनिधि, बाल क्लव लगायतको सहभागीता रहेको थियो ।