बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा कृषि उपज केन्द्रका लागि बनेका संरचनाहरु प्रयोगविहीन अवस्थामा रहेका छन् । कृषि उपज केन्द्रका लागि करोडौं लगानीमा बनेका संरचनाहरु बडीमालिका नगरपालिकालाई हस्तान्तरण गरेको करिब ६ महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन् ।
२०७६ सालमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि ०८१ साउनमा संरचनाहरुको निर्माण कार्य सम्पन्न भएको थियो । बडीमालिका नगरपालिकाको १२ लाख १५ हजार ४७१ र कृषि विकास निर्देशनालय डोटीको ४१ लाख १९ हजार ९८४ रुपैयाँको लागतमा संरचनाहरु निर्माण गरिएको हुन् ।
कृषि उपज केन्द्र तथा कोल्ड स्टोरका संरचनाहरु ०८१ मंसिर १ गते सुदूरपश्चिम प्रदेश कृषि भूमि तथा सहकारी मन्त्री बीरबहादुर थापाले एक कार्यक्रमका बिच उद्धघाटन गरेर बडीमालिका नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । संरचना हस्तान्तरण पश्चात् पुष महिनामा पाँच वटा सटर भाडाका लागि नगरपालिकाले सूचना आव्हान गरेको थियो । १० जना व्यवसायीहरुले आवेदन दिएकोमा ५ जनाले माघ १ गतेबाट बस्ने गरि सम्झौता पनि भएको छ ।
यस बिषयमा बडीमालिका नगरपालिकाले भने केही निर्माण कार्य बाँकी रहेका कारण कृषि उपज केन्द्र सञ्चालनमा ढिलाई भएको बडिमालिका नगरपालिका कृषी साखा प्रमुख रमेश विकले बताएका छन । व्यवसायीहरुले सम्झौता गरेपनि घेरबार नहुँदा बस्न नमानेको र अहिले घेरबारका लागि टेण्डर भइसकेकाले जेठ १ गतेबाट सञ्चालनमा ल्याउने तयारी भइरहको उनले बताएका छन ।
यँहाका कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु बिक्रीवितरण तथा भण्डारका लागि बनेका ती संरचनाहरु प्रयोगविहीन बनेका छन् । कृषि उपज केन्द्र सञ्चालनमा नआउँदा गाउँमा कृषकहरुले उत्पादन गरेका फलफुल, तरकारी, रैथाने बालीहरु पिठ्युँमा बोकेर मार्तडीका सडक पेटीमा बिक्री गर्नुपर्नै बाध्यता रहेको गुनासो गर्न थालेका छन् ।