बाजुरा—शिक्षक कर्मचारीहरू १७ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप चर्कीदैँ गइरहेको छ । जसको प्रत्यक्ष प्रभाव बाजुरा सहित देशभरका सामुदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्र सुरु भए पनि विद्यार्थी भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रमहरु सुरु हुन सकेका छैनन् ।
महासंघले सबै जिल्लाबाट शिक्षक कर्मचारीहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह गरी रहेको छ । शिक्षक तथा कर्मचारीहरुले तत्काल विद्यालय शिक्षा ऐन जारीको माग गर्दै लगातारको आन्दोलनको प्रभाव विद्यार्थी भर्ना अभियानसँगै परीक्षामा पनि परेको छ । यतिखेर बाजुरा जिल्ला सहित देशभरका सामुदायिक विद्यालयहरु बन्द छन् । त्यस्तै यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुको आन्दोलनले जिल्लाका ९ वटै पालिकाहरुमा आधारभूत तहका ग्रेडवृद्धि परीक्षा प्रभावित भएका छन् ।
त्यसैगरी बाजुराको सदरमुकाम मार्तडीमा रहेको मालिका माध्यमिक विद्यालयले पनि भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रमहरु स्थगित गरेको छ । शुक्रवार विद्यालयले एक सूचना जारी गर्दै शिक्षक कर्मचारीहरु अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेर सडक आन्दोलनमा रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ ।
त्यस्तै शिक्षकहरुको सडक आन्दोलनका कारण जिल्लाका सबै सामुदायिक विद्यालयहरु बन्द रहँदा याँहाका संस्थागत विद्यालयहरुले भने धमाधम भर्ना लिई रहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराका निमित्त प्रमुख टिकाराम जोशीले शिक्षकहरुको आन्दोलनले सबै विद्यालयहरु ठप्प रहेको र तत्काल माग सम्बोधन नभए यसले पठनपाठन समेत प्रभावित हुने बताए ।
त्यस्तै नेपाल शिक्षक महासंघले माग पूरा नभएसम्म विद्यार्थी भर्ना अभियान, कक्षा १२ को परीक्षा कार्यक्रममा सहभागी नहुने र एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने बताउँदै आएको छ ।