• होमपेज
  • समाज
  • आजदेखि बाजुरामा एचपीभी खोप अभियान : कहाँ गएर लगाउने ?

आजदेखि बाजुरामा एचपीभी खोप अभियान : कहाँ गएर लगाउने ?

  • मङ्लबार, माघ २२, २०८१
आजदेखि बाजुरामा एचपीभी खोप अभियान : कहाँ गएर लगाउने ?

बाजुरा–सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान बाजुरामा माघ २२ देखि २८ गतेसम्म जारी रहनेछ । आजै देखी जिल्लाभर एचपीभी खोप अभियान शुरु भएकाे छ । देशभर भने यो अभियान १५ दिन अर्थात् फागुन ६ गतेसम्म जारी रहनेछ । 

महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप बाजुराका ७ हजार बढी किशोरीहरुलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालय बाजुरा अनुसार जिल्लाभर ७ हजार ८ सय ९४ जना किशोरीहरुलाई एच.पि.भी खोप लगाइने जनाएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा  माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एच.पि.भीे खोप अभियानमा विद्यालय जाने ७ हजार ८ सय ६० र विद्यालय नजाने ३४ किशोरीहरुलाई खोप लगाइने भएको छ ।

जसमा कक्षा ६ का १ हजार ६ सय ३८, कक्षा ७ देखि १० सम्मका ६ हजार २ सय २२ र विद्यालय नजाने १० बर्ष उमेरका ५ जना तथा ११ देखि १४ बर्षसम्मका २९ जना किशोरीहरुलाई खोप लगाइदै छ ।

त्यस्तै जिल्लाका ९ वटै स्थानीय तहका १ सय १८ विद्यालय तथा ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने भएको छ भने खोप अभियानमा २ सय १० स्वास्थ्यकर्मी र ४ सय १८ स्वयमसेवक खटिने भएका छन् । देशभर एच.पि.भी खोप अभियान यहीँ माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुदैँछ ।

त्यसै गरी खोप अभियान त्रिवेणी, बडीमालिका, गौमुल, बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक र जगन्नाथमा माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ भने खप्तड छेडेदहमा माघ २२ देखि २६ गतेसम्म र हिमालीमा माघ २७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख लालबहादुर खड्काले एच.पि.भी ले खोप अभियानमा अन्य जिल्लामा ९५ प्रतिशत लक्ष्य लिइएपनि बाजुरामा भने १०० प्रतिशत नै पुगाउने लक्ष्य रहेको भन्दै यो अभियान अर्को बर्षदेखि भने नियमित खोप कार्यक्रम हुने जानकारी गराएका छन् ।
त्यस्तै खोप अभियानभर स्वास्थ्य संस्थाले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुलाई विद्यालयमा, विद्यालय नजाने १० देखि १४ बर्षसम्मका किशोरीहरु र छुट भएका छात्राहरुलाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबानट एच.पि.भी खोप दिने जनाएको छ । त्यसै गरी विद्यालय नभएका गाउँ, टोल र पिछडिएका वर्ग समुदायको पहुँचको लागि थप खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने महिनामा यो खोप दिने व्यवस्था गरिने भएको छ ।

खोप कहाँ लगाउने ?

विद्यालयमा अध्ययनरत बालिकाले विद्यालयमा नै खोप लगाउन पाउने छन् । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिकाले नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्ने छन् ।

एचपीभी खोप भनेको के हो ?

एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो । औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यही क्यान्सरका कारणले पनि दैनिक चार जनाको मृत्यु भइरहेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेको डा. अभियान बताउँछन् । 

एचपीभी भनेको के हो ? 

एचपीभी भनेको भाइरस हो । यसमा दुई सयभन्दा बढी प्रजातिका भाइरस छन् । तीमध्ये पनि १६ देखि १८ प्रजातिका भाइरसले क्यान्सर गराउँछन् । त्यसमध्ये पाठेघर मुखको क्यान्सर गराउने भाइरस चार थरी रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ओन्कोलोजिस्ट डा. कृष्ण सागर शर्मा बताउँछन् । नेपालमा पनि सोही विरुद्ध खोप अभियान सुरु गरिएको उनको भनाई छ । 

‘ह्युमन प्यापिलोमा भाइरसका कारणको कारणले हुने पाठेघरको मुखको क्यान्सर हुन्छ,’ उनले भने, ‘भाइरस संक्रमण हुनु अगावै खोप लगाउने आवश्यक छ । यी भाइरसहरू प्रमुख गरी शारीरिक सम्बन्धबाट सर्ने भएकाले शारीरिक सम्बन्ध राख्नु पहिला नै खोप लगाएमा प्रभावकारी हुन्छ ।’ 

पाठेघर मुखको क्यान्सर गराउने भाइरस पुरुषले पनि ‘क्यारी’ गर्ने तर महिलामा संक्रमित हुने भएकाले महिलालाई खोप लगाउने गरिन्छ । तर विकसित मुलुकमा यो खोप पुरुषलाई पनि लगाइन्छ । पाठेघरको मुखको क्यान्सर ३० वर्षपछि देखिने गर्छ । त्यसकारण अहिले लगाइएको एचपीभी खोपको असर ३० वा ३५ वर्ष  पछि देखिने डा. शर्माको भनाई छ । उनले भने, ‘३५ देखि ५५ वर्ष उमेर समूहमा पाठेघरको मुखको क्यान्सर देखिन्छ तर त्यही भएर आज लगाउँदा ३० वर्ष पछि यसको प्रभावकारिता देखिन्छ ।’ 

खोप लगाएमा देखिने ‘साइड इफेक्ट’

खोप लगाउँदा सामान्य असर देखिन सक्छ । तर यसको गम्भीर ‘साइड इफेक्ट’ नरहेको चिकित्सक बताउँछन् । डा. शर्माका अनुसार कहिलेकाहीँ बच्चा सियो देखेर डराउने, केही प्यानिक हुने हुन्छन् । 

यसका साथै खोप लगाएको ठाउँमा दुख्ने हुन्छ । दुखाइका कारणले कहिलेकाहीँ ज्वरो पनि आउन सक्ने डा. शर्माको भनाई छ । यस्ता लक्षण सामान्य रहेकोले नडराउन र खोप अनिवार्य लगाउन उनी सुझाउँछन् । ‘चितवनमा १२ देखि १३ हजार बालिकालाई खोप लगाउँदा दुई–चार जनालाई दुख्ने र ज्वरो आउने देखिएको थियो,’ उनले भने, ‘यो सामान्य हो ।’

पाठेघर मुखको क्यान्सरको अवस्था 

देशभर पाठेघर मुखको क्यान्सर भएका संख्या करिब २२ सय छ । २ हजार १४९ जना महिला पाठेघर मुखको क्यान्सरबाट पीडित रहेको सरकारी तथ्यांक छ । यो संख्या वार्षिक हो । तीमध्ये करिब १३ सय जनाको बर्सेनि मृत्यु हुन्छ । सुरुमा परीक्षण गरेर पहिचान हुन सके बचाउन सकिन्छ । ढिलो पहिचान भए बचाउन सकिने अवस्था रहँदैन वा मुस्किल हुने अध्ययनले देखाएको छ । 

पाठेघर मुखको क्यान्सरमा एचपीभी खोपले कसरी काम गर्छ ? 

यो खोप भाइरस संक्रमणविरुद्ध हो । पाठेघर मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरसलाई मानिन्छ । यो भाइरसको संक्रमणबाट जोगाउँछ । ह्युमन प्यापिलोमा भाइरसको संक्रमण एक न एकपटक हुन्छ नै । लामो समयसम्म संक्रमण भइरहँदा संक्रमणबाट हुने घाउबाट क्यान्सरमा परिणत हुन्छ । 

यो खोपको काम नै ह्युमन प्यापिलोमा भाइरस संक्रमण रोक्ने हो । यसले गर्दा भोलि हुने क्यान्सर रोक्ने हुन्छ । १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाउने भनिएको हो । यो उमेरका किशोरी ६ कक्षादेखि १० कक्षासम्म पढ्नेछन् ।  हामी यो वर्ष देशभर अभियानका रूपमा लगाउनेछौँ । अर्को वर्षदेखि नियमित खोप तालिकाअनुसार खोप लगाउनेछौँ । हरेक वर्ष फागुनमा खोप लगाउनेछौँ । नेपालको राष्ट्रिय खोप तालिकामा अपडेट गरेका छौँ । 

खोप निःशुल्क हो ?

सरकारले एचपीभी खोप निःशुल्क लगाउनेछ । तर, बाहिर लगाउनुपरे एक डोजको ६ हजार रुपैयाँभन्दा बढी पर्छ । यो अन्य देशले लगाइरहेका छन् । विश्व स्वास्थ्य संस्थाले मान्यता दिएको छ । औषधि व्यवस्था विभागले मान्यता दिएको छ । 

खोप लगाउने आगामी माघ महिना तोकिएको छ । यो समयबाहेक लगाउन खोज्नुभयो भने खोप नपाइन सक्छ । पाठेघर मुखको क्यान्सर मात्रै होइन, अन्य क्यान्सरबाट पनि जोगाउँछ । सरकारले एचपीभी खोप निःशुल्क लगाउनेछ । तर, बाहिर लगाउनुपरे एक डोजको ६ हजार रुपैयाँभन्दा बढी पर्छ ।

प्रदेश अनुसार खोप लगाउने किशोरीको विवरण:

p1

चर्चामा

सम्बन्धित समाचार