टेक बहादुर बुढा —बाजुराको बडीमालिका नगरपालिका—१ पिनालेख गाउँका ३० बर्षका तिलक कार्की उपचार गर्ने पैसा नहुँदा अस्पतालबाट अपुरो उपचार गरेर बाजुरा फर्केका छन् । लडेर घाइते भएका तिलकलाई बाजुराबाट धनगढीको सेती प्रादेशिक अस्पतालमा लगेका थिए ।
तिलकले पैसा हुदा सम्म सेति प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचार गरेका थिए । पैसा सकिएपछि भने उपचार नगरेर घर फिर्ता भएका छन् । करिब ५ लाख खर्च गरे, अझै २ लाख जति खर्च हुने भएपछि घर आएको तिलकले बडिमालिका खबर सँग बताएका छन् । पैसा नहुदा कम्मर तथा ढाडको उपचार नगरेर घर फिर्ता भएका हुन् । अस्पतालले उक्त अप्रेशन गर्न अझै १ लाख ५० हजार खर्च लाग्ने वताएपछि उनि पुरा उपचार नगरेर बाजुरा पुगेका हुन् ।
अहिले उनेको थप उपचार तथा फलोअप उपचार गर्न आर्थिक अभावले समस्या भएको छ । उनि रुखबाट लडेर खुट्टा, कम्मर र बङ्गरा टुटेका थिए । २०८१ कार्तिक २३ गते घर नजिकै जंगलमा बाख्रा चराउने क्रममा रुखबाट लडेर खुट्टा, कम्मर र बङ्गरामा गम्भिर चोट लागेको थियो । चोट लागे लगत्तै धनगढीको सेती प्रादेशिक अस्पतालमा करिब ३ महिना उपचार गरेको थियो । अहिले आर्थिक अभाव भएपछि अधुरै उपचार गरेर घर फर्किएको तिलकको श्रीमति पार्वति कार्कीले बताइन् ।
सेती प्रादेशिक अस्पतालमा खुट्टामा रड हालेको छ । बङ्गराको उपचार भने निजि अस्पतालमा गरेका थिए । कम्मर र ढाडको अप्रेसन नगरेर फिर्ता भएका हुन् । अस्पतालले ६ महिनापछि फेरी अप्रेशन गर्नुपर्ने भनेको छ, तर पैसा छैन्, तिलकले भने । उपचारमा सहयोगका लागि पटकपटक बडीमालिका नगरपालिकालाई गुहार्दा पनि अहिलेसम्म कुनै सहयोग नभएको कार्कीले गुनासो गरे । उनका एक छोरी र दुई छोरी छन् ।
उपचारमा भएको खर्च केही रकम गाउँमा संकलन गरेको थियो भने जग्गा समेत बेचेको श्रीमति पार्वती कार्कीले बताइन् । जग्गा बिक्रि गरेर थोरै रकम भयो, बाँकि ऋण काढेको उनले बताइन् । एकातिर छोरीछोरीको पालनपोषण देखि पढाउन र अर्कोतिर श्रीमानको उपचार गर्न पैसा नहुँदा निकै समस्या भएको उनले बताइन् । श्रीमानको उपचारको लागि करिब ३ लाख ऋण काढेको र आफूसँग भएको जग्गा जमिन समेत बेचिसकेको भन्दै उपचारमा सहयोग गरिदिन सबैलाई अनुरोध गरेकी छन् ।