बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकाले बजेट खर्च न्युन देखिएको छ । चालु आर्थिक बर्ष २०८१।८२ को पहिलो ६ महिना अर्थात पुस मसान्तसम्म कुल बजेटको १९ प्रतिशत खर्च गरेको हो ।
बुधवार गाउँसभाको १६ औं हिउँदे अधिवेशनमा सार्वजनिक गरिएको विवरण अनुसार चालु आर्थिक बर्षमा विनियोजित ५१ करोड ७० लाख २९ हजार ७ सय ७२ रुपैयाँ मध्ये हालसम्म १० करोड ३६ लाख ६९ हजार ७५ रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको चालु तर्फ २८ प्रतिशत र पुँजीतर्फ २ प्रतिशत गरी कुल १९ दशमलव ६७ प्रतिशत हुन आउँछ ।
गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुकै आन्तरिक विवादका कारण ३ महिनासम्म प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा सबै कामकाज ठप्प भएर पनि बजेट खर्च न्युन भएको स्रोतले बताएको छ ।
त्यस्तै मंगलवारबाट सुरु भएको गाउँसभाको १६ औं हिउँदे अधिवेशन विभिन्न नीति, ऐन तथा कार्यविधि र प्रस्तावहरु माथि छलफल गर्दै सम्पन्न भएको छ । गाउँपालिका सूचना अधिकारी मिरा जोशीका अनुसार गाउँसभाको १६ औं अधिवेशनबाट ९ वटा ऐन तथा कार्यविधिहरु पारित भएका छन् ।
जसमा कृषि बजार व्यवस्थापन निर्देशिका २०८१, खप्तड छेडेदह हो लोडर सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१, विद्यालय भान्सा कोठा निर्माण कार्यविधि २०८१, स्थानीय विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०८१, एम्बुलेन्स सञ्चालन सम्बन्धी कर्याविधि २०८१ पारित भएका छन् । त्यस्तै स्थानीय तहको कृषि विकास शाखाले सञ्चालन गर्ने कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१, मृगौला प्रत्यारोपण गरेका, डायालासिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१, गाउँपालिकाको महिला, दलित, अपांग, बालवालिका लगायतको सञ्जाल गठन सम्बन्धी कार्यविधि २०८१ र गाउँपालिका स्तरीय खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०८१ पारित भएको सूचना अधिकारी जोशीले बताइन् ।
गाउँपालिका अध्यक्ष दिल बहादुर रावतको अध्यक्षतामा सञ्चालन भएको गाउँसभामा उपाध्यक्ष बिशु नाथ, निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द बहादुर रावत, गाउँसभा सदस्य लगायतको उपस्थिती रहेको थियो ।