बाजुरा—बाजुराको गौमुल गाउँपालिकामा साप्ताहिक योग शिविर सञ्चालन गरिएको छ । मंगलवारबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा पालिका स्तरीय साप्ताहिक योग शिविर सञ्चालन भएको हो ।
“शारीरिक क्रियाशिलताका लागि योग, मानसिक स्वस्थका लागि ध्यान” भन्ने नाराका साथ नागरिक आरोग्य केन्द्र गौमुलले साप्ताहिक योग शिविर सञ्चालन गरेको जनाएको छ । पालिकामा वडा स्तरीय नागरिक आरोग्य सेवा समूह गठन गरेर आयुर्वेद स्वास्थ्यबारे जानकारी सँगै साप्ताहिक शिविर समेत सञ्चालन गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख रंगबहादुर कार्कीले व्यक्तिलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रुपमा सन्तुलित तथा शारीरिक क्रियासिलता र नसर्ने रोगहरु रोकथाम गर्न उदेश्यका साथ शिविर सञ्चालन गरिएको हो । कार्यालय प्रमुख कार्कीले सुरुमा गौमुलमा उक्त शिविर सञ्चालन गरिएको र अन्य नागरिक आरोग्य केन्द्र भएका पालिकामा समेत सञ्चालन गरिने बताए ।
पालिका स्तरीय साप्ताहिक योग शिविरमा विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधि र स्थानीयहरुलाई योग अभ्यास, आयुर्वेद स्वास्थ्यबारे जानकारी दिइने गरिएको छ । त्यस्तै साप्ताहिक शिविरमा हरेक दिन बिहान ५ देखि ७ बजेसम्म विद्यार्थी र ७ देखि ९ बजेसम्म कर्मचारी तथा जनप्रतिनिधिहरुलाई योग अभ्यास गराउने गरिएको छ ।
जिल्लामा पछिल्लो समय आयुर्वेद स्वास्थ्य सम्बन्धी चेतना बढेसँगै आयुर्वेद उपचार गर्नेको संख्या समेत दिनप्रतिदिन बढी रहेको छ । तर पनि जिल्लाका गाउँमा आयुर्वेद स्वास्थ्यबारे कम जानकारी तथा सहज उपचारको पहँच नहुँदा धेरैजसो नागरिकहरु आयुर्वेद स्वास्थ्य उपचारको पहुँचमा छैनन् ।
हाल बाजुरामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहित बुढीगंगा नगरपालिका, गौमुल, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा नागरिक आरोग्य केन्द्रबाट सेवा दिइदै आएको छ ।