आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गौमुलमा नवनिर्मित दश शैया अस्पताल गाउँपालिकालाई हस्तान्तरण

गौमुलमा नवनिर्मित दश शैया अस्पताल गाउँपालिकालाई हस्तान्तरण

  • मङ्लबार, माघ ८, २०८१
गौमुलमा नवनिर्मित दश शैया अस्पताल गाउँपालिकालाई हस्तान्तरण

बाजुरा—बाजुराको गौमुल गाउँपालिकामा नवनिर्मित दश शैया अस्पताल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । करिब ४ बर्ष लगाएर निर्माण सम्पन्न भएको पालिकामा निर्माण गरिएको दश शैयाको अस्पताल सोमवार गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

उक्त अस्पताल २०७७ साल चैतमा १३ करोड ८४ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको थियो । दश शैया अस्पताल निर्माणको जिम्मा पीएस रोयल जे.भी.धनगढीले लिएर अहिले निर्माण सम्पन्न गरेपछि गाउँपालिकालाई हस्तान्तरण गरिएको जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर २ को सियाढुङ्गा मालिवनमा बनेको दश शैया अस्पताल निर्माण सम्पन्नपछि गाउँपालिका उपाध्यक्ष सीता थापालाई निर्माण कम्पनीले चाबी बुझाएर हस्तान्तरण गरेको छ ।

गाउँपालिका उपाध्यक्ष सिता थापाले निर्माण कम्पनीले अस्पताल निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेपनि तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था नभएको बताएकी छन् । उनले भनिन्,“निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरेको छ, अब हामीसँग उपलब्ध जनशक्ति र उपकरण राखेर सञ्चालनमा ल्याउन पहल गरी रहेका छौ तर सबै व्यवस्थापन पालिकाले गर्न सकिने अवस्था छैन् ।” हाल पालिकाको केन्द्र घट्मुनामा रहेको आधारभूत अस्पतालमा कार्यरत एमबिबिएस डाक्टर सहितको जनशक्ति र उपकरणले दश शैयाको अस्पताल सञ्चालनमा ल्याउने तयारी रहेको उपाध्यक्ष थापाले बताइन् । दश शैयाको अस्पताल सञ्चालन गर्न सक्ने क्षमता पालिकासँग नभएको भन्दै आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्न प्रदेश तथा केन्द्र सरकारसँग पनि पहल भइरहेको उनले बताएकी छन् ।

पालिकामै भौतिक सुविधा सम्पन्न दश शैयाको अस्पताल बनेसँगै अब सरकारले दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्न सके त्याँहाका नागरिकहरु सहज स्वास्थ्य सेवाको पहुँचमा पुग्ने विश्वास गरिएको छ ।

स्वास्थ्य सुविधाबाट पछाडि परेका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने योजना संघीय सरकारले अघि सारेको थियो ।

चर्चामा

सम्बन्धित समाचार