आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • सुनसान बन्दै बाजुराका गाउँ, युवाजति ‘कालापहाड’

सुनसान बन्दै बाजुराका गाउँ, युवाजति ‘कालापहाड’

  • बुधबार, मंसिर १२, २०८१
सुनसान बन्दै बाजुराका गाउँ, युवाजति ‘कालापहाड’

बाजुरा — युवाजति धमाधम भारत (कालापहाड) पस्न थालेपछि बाजुराका गाउँ युवाविहीन बनेका छन् । गाउँमा गरिखाने मेसो नभेटेपछि युवाहरु घरमा ताला लगाएर भारततर्फ जाने क्रम बढ्दै जाँदा त्यहाँका गाउँहरू सुनसान बनेका हुन् । बाजुराको खप्तड छेडदह गाउँपालिका वडा न १ को रानकाँडा गाउँ निकै सुन्दर छ । खेतमा गहुँ, जौ, बयेली खेलिरहेका छन् । हरियाली खेत र गह्राका बीचबीचमा बनेका परम्परागत घरहरुले यो बस्ती मनमोहक देखिन्छ ।
खप्तड छेडेदह गाउँपालिका १, मा पर्ने यो गाउँमा पस्यो भने अधिकांश घरमा ताल्चा झुन्डिएको देखिन्छ । जुन घरका मूल ढोका खुला छन्, तिनलाई ज्येष्ठ नागरिक र साना बालबालिकाहरु मात्र देखिन्छन् । केही ‘घरमा ताल्चा मारेर यहाँका मानिस परिवार सहित भारत गइसकेका छन् ।
लामो समय मानिसले नचर्चिएका केही घरहरु खण्डहर बनेका छन् । गाउँमा आम्दानीको स्रोत नभेटेपछि गाउँलेहरुलाई घर खाली गरेर मजदुरी गर्न भारत जानुपर्ने बाध्यता छ,’ खप्तड छेडेदह गाउँपालिका स्थानिय दान बहादुर रोकायाले भने । युवाजति सबै भारत जाँदा गाउँको खेतीपाती लगायतको कामको बोझ ज्येष्ठ नागरिकले बोक्नुपरेको स्थानीय दान बहादुरको भनाई छ । घरमा एक्लै हुनेहरुलाई घर व्यवहार धान्न र वस्तुभाउ स्याहार्न सकस भएको उनि बताउछन ।
भारत (कालापहाड) मा कमाउन जाने चलन पुरानै भए पनि पछिल्ला केही वर्षदेखि भने घरै रित्तो बनाएर पलायन हुँदा गाउँ सुनसान बन्न थालेको हो । यो गाउँपालिका लगायत बाजुरा जिल्लाका सबैजसो गाउँको कथा रानकाँडा गाउँको भन्दा फरक छैन । बाजुरामा हिउँदे बाली लगाएर सकिएपछि युवा सबै रोजगारीका लागि धमाधम भारत जान थालेपछि यहाँका गाउँबस्ती खाली हुँदै गएका बुढापाकाहरु बताउछन् ।
गाउँमा अहिले बुढापाका र बालबालिका बाहेक कोही पनि युवाहरु भेटिदैनन् । गाउँमा रोजगारी नपाइने भएकाले तन्नेरी देखि ६० वर्ष सम्मका सबै भारतमा मजदुरीका लागि भारत गएको खप्तड छेडेदह गाउँपालिका वडा न २ का वडाअध्यक्ष भक्त बहादुर बुढाले बताए । “युवाका लागि गाउँमा केही रोजगारी मिल्दैन । ठुला योजनाहरुको पालिकाले टेण्डर गरेर ठेक्कामा दिन्छ ठेकेदारले आफ्ना कामदर लगाउने हुदा गाउँमा भएका युवाहरु ब्यरोजगार हुने गरेको वडा अध्यक्ष बुढाले बताए । यही बसेर केही व्यवसाय गरौँ भने उनीहरू सँग आयस्रोत छैन । यहाँ दसैँ तिहार र असारको केही दिन गाउँ बस्ती युवाले भरिभराउ हुन्छ । त्यसपछि सबै युवा कामको खोजीमा भारतमा जाने गरेकोले अरू महिना सधैँ यसरी नै गाउँ खाली हुने गरेको वडाअध्यक्ष बुढाको भनाई रहेको छ ।
प्रधानमन्त्री रोजगार लगायतका कार्यक्रम लागु भएको धेरै भयो तर स्थानिय तहका जनप्रतिनिधीका कारण सर्बसाधरणको पहुँच रोजगारमुलक कार्यक्रम पनि पुग्न नसकेको बिदेशीने युवाहरुले बताउने गरेका छन । गरिवहरुको पहुँच नभएका कारण स्थानिय तहले रोजगार दिदैन बाध्य भएर चौकीदारी गर्न भारत जान लागेको खप्तड छेडेदह गाउँपालिका ३ का कलक रावतको भनाई रहेको छ । रावत जस्तै बाजुराका अधिकांस युवाहरुले भारतको बाटो तय गरिसकेका छन भने केही युवाहरु गन्तब्यमा पुगेर काम गर्न थालिसकेका छन । बाजुराका नौ वटै स्थानिय तहका अधिकांश गाउँबस्ती खाली हुँदै गएका छन् ।
कामका लागि जसरी पहिला यहाँका स्थानीय भारतमा जाने गर्थे अहिलेका युवा पनि कामका लागि भारत नै जाने गर्दछन् । नेपालमा राणा शासन देखी प्रजातन्त्र लोकतन्त्र र संघिय गणतन्त्र हुदै अहिले ३ तहका सरकार भए पनि युवाहरुले रोजगारको शुन्शिचितता पाउन नसकेको नागरिक अगुवा मदन जोशीको भनाइ रहेको छ । जिल्लाका हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, बुढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश युवा प्रत्येक वर्ष सिजन अनुसार कामको खोजीमा भारत जाने गरेको नागरिक अगुवा जोशीले बताए ।
उसो त सुदूरपश्चिमेलीहरू अहिले मात्रै होइन, बाह्रैमहिना कामको खोजीमा भारत जाने गरेका छन् । सुदुरपश्चिमका ७ पहाडी जिल्लाकाका नागरिकहरू स्थानीयस्तरमा भरपर्दो काम नहुँदा भारतमै निर्भर छन् । तर नेपाल सरकारका आधिकारीक निकायसंग कति संख्यामा रोजगारीका लागि भारत जान्छन् भन्ने तथ्याङ्क छैन । गाउँ नै रित्तिने अवस्था आउँदा पनि त्यसलाई रोक्न सरकारी पहल भएको देखिँदैन ।

चर्चामा

सम्बन्धित समाचार