
बाजुरा —मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मिति नजिकिएसँगै बाजुरा जिल्लाका राजनीतिक दलहरूले तयारी थालेका छन् । स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधनपछि उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनका लागि दलहरुले चुनावी अभियान थालेका छन् ।
उपनिर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेद्धारको टुंगो लगाई चुनावी प्रचारमा छन । नेकपा एमाले स्वामिकार्तिक खापर गाउँ कमिटीको कात्र्तिक ८ गते बसेको बैठकले जिल्लामा, जिल्ला कमिटीको कार्तिक १२ गतको बैठकले प्रदेशमा सिफारिस गरेको थियो । त्यस्तै कात्र्तिक १५ गते प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेर केन्द्रले २२ गते आधिकारिक रुपमा उपाध्यक्ष पदमा सुलोचना बुढालाई उम्मेद्धार अनुमोदन गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव काँशी बिकले जानकारी दिए ।
त्यसै गरी ५ जनाको नाम सिफारिस गरेर केन्द्रीय कमिटीमा पठाएको माओवादी केन्द्रले पनि आइतवार नै एकल उम्मेद्धारका रुपमा राजुकुमारी विकलाई उम्मेद्धार बनाउने निणर्य गरिसकेको छ । नेपाली कांग्रेस नेकपा एकिकृत समाजवादीले भने अहिलेसम्म उम्मेद्धारको टुंगो लगाउन सकेको छैन् । एमाले र माओवादीले एकल उम्मेद्धार टुंगो लगाएर चुनावी अभियान घरदैलो कार्यक्रममा थालेका नेताहरुले बताएका छन् ।
हालसम्म दुई दलले उम्मेद्धार घोषणा गरेपनि स्वामीकार्तिक खापर गाउपालिकामा हुने उपनिर्वाचनमा नेपाली कांग्रेस र एकिकृत समाजवादीले भने गठबन्धन गर्ने तयारी थालेका छन् । नेपाली कांग्रेस र एकिकृत्त समाजवादीले माओवादीलाई समेत सहभागी गरेर चुनावमा तालमेल गर्ने गरी वार्ता टोली गठन गरेर त्यसका आधारमा सहमतिको प्रयास भइरहेको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।
२०७९ सालको राष्ट्रिय चुनावमा प्रदेश सांसदमा समाजवादीका नरेशकुमार शाहीलाई जिताउन सहयोग गरेको भन्दै उपनिर्वाचनमा समाजवादीले कांग्रेसको उम्मेद्धारलाई सहयोग गर्ने नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवालले बताए । उनले भने, अहिले पार्टीका नेता र समाजवादी पार्टीसँग चुनावी तालमेलको बिषयमा कुरा चलिरहेको छ, त्यस कारण पनि उम्मेद्धार सार्वजनिक गरेका छैनौ, यो बिषय केहि दिनमै टुंगीन्छ । कांग्रेस र समाजवादीविच सहकार्य गर्नका लागि गठन गरिएको वार्ता टोलीमा माओवादीलाई पनि सहभागी गराएपनि अहिल्यै माओवादीसँग गठबन्धन गर्ने कुरा नभएको उपसभापति बडुवालले जिकिर गरे । त्यस्तै उनले चुनावमा समाजवादीले आफ्नो पार्टीको उम्मेद्धारलाई सहयोग गर्ने र त्यो बिषयलाई वार्ता टोलीले चाडै टुंग्याउने समेत बताएका छन् ।
त्यस्तै माओवादी केन्द्रका जिल्ला सचिव रमेश विश्वकर्माले भने सैद्धान्तिक रुपमा चुनावी तालमेल गर्ने कुरा कुनै पार्टीसँग पनि नआएको र सहकार्यको ढोका खुल्ला रहेको बताएका छन् । उनले बडीमालिका खबरसँग भने, अहिले सबै पार्टी देखि जनतासँग छलफल चलिरहेको छ, केन्द्रमा जे भएपनि स्थानीय आवश्यकताका आधारमा सहकार्यका लागि केन्द्रलाई अनुरोध गर्छो, त्यसको आधारमा पार्टीले थप निणर्य गर्छ ।
त्यस्तै नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष पुर बहादुर रावतले सरकारले उपनिर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले आन्तरिक तयारी तथा घरदैलो कार्यक्रमलाई तीव्र रुपमा अगाडि बढाइरहेको बताएका छन् । अध्यक्ष रावतले बडीमालिका खवरसँग कुरा गर्दै वार्ता टोलीमार्फत दलहरुसँग छलफल भइरहेको भन्दै कांग्रेस र माओवादी केन्द्र पनि सकारात्मक रहेको र स्वामिकार्तिकमा हुने उपनिर्वाचनमा तीनै दलको साझा उम्मेद्धार हुने बताए । उनले भने राजनीतिमा यहि हुन्छ भन्ने हुदैन तर कांग्रेस, माओवादी केन्द्र र समाजवादीको उम्मेद्धार हुने र हालसम्मको छलफललाई हेर्दा एउटै उम्मेद्धारलाई मतदान गर्छौ त्यो सहमति बाहिर नल्याउँदासम्म जुनसुकै पार्टीको पनि हुन सक्ने बताए ।
त्यस्तै नेकपा एमाले जिल्ला कमिटी सचिव काशी विकले अहिले पार्टीले निर्वाचन हुने पालिकाका जनतामाझ घरदैलो कार्यक्रम गरिरहेको र मनोनयन दर्तापछि पार्टीले चुनावी रणनीति योजना प्रस्तुत गरेर थप कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । चुनाव जनताले मतभारबाट जनप्रतिनीधि चुन्ने सुनौलो अवसर भएको भन्दै सचिव विकले ०७९ सालको निर्वाचनमा गठबन्धनको विरुद्ध एक्लै मैदानमा उत्रिए पनि पार्टीको आन्तरिक तयारी तथा चुनावी रणनीति पनि प्रभावकारी हुन नसक्दा पराजित हुन पुगेको बताए । पार्टीले सरकारमा कार्यगत शैली मिल्ने दलसँग सहकार्य गरेपनि चुनावी मैदानमा भने एक्लै लड्ने बिषयमा स्पष्ट धारण रहेको उनले बताए । त्यस्तै एमाले र माओवादीविच चुनावमा तालमेल हुन सक्छ भन्ने प्रश्नमा उनले चुनावमा सहकार्यका लागि ढोका खुल्ला गरेको र चुनावी तालमेलका नाममा हाम्रो उम्मेद्धारलाई पछाडि सारेर अर्कोलाई भोट हाल्ने कुरा नहुने बताए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने उपनिर्वाचनका लागि उपयुक्त उम्मेद्वार नभेटिएकाे बताएकाे छ । रास्वपा बाजुरा जिल्ला संयोजक नवराज जैशीले उपनिर्वाचनका लागि महिला नै अनिवार्य भएकाले स्वामिकार्तिकमा हुने उपनिर्वाचनका लागि हालसम्म उम्मेद्धार नपाइएको बताएका छन् । उनले भने, अहिलेसम्म उपयुक्त उम्मेद्धार भेटाएका छैनौ र बाँकी कसलाई सहयोग गर्ने भन्ने बारेमा पार्टीले कुनै निणर्य नलिएको बताए ।
स्वामीकार्तिक खापर गाउँपालिकामा ०७९ सालको निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि सो पदका लागि उपनिर्वाचन हुँदैछ । उपाध्यक्षमा जोशी १ हजार ८सय १० मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी एमालेका सुलोचना कुमारी भण्डारी बुढाले एक हजार ६ सय ३७ मत पाएकी थिइन् भने माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ मत पाएका थिए ।
यो पनि पढ्नुहोस्ः
निर्वाचनको कार्यतालिका अनुसार मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ । यस्तै सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
निर्वाचन आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।
मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निणर्य गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । यस्तै सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।


