• होमपेज
  • कभर स्टोरी
  • साउन नजिकिएसँगै पोते पसलहरूमा भीड

साउन नजिकिएसँगै पोते पसलहरूमा भीड

  • सोमवार, असार ३१, २०८१
साउन नजिकिएसँगै पोते पसलहरूमा भीड

साउन महिना नजिकिएसँगै काठमाडौँको इन्द्रचोकमा रहेको पोते पसलहरूमा मानिसहरूको भीड बाक्लिएको छ । बिहेको मौसम पनि चलिरहेको र साउन पनि नजिकिएसँगै मानिसहरू विशेषतः महिलाहरूको चाप अहिले बढेको हो ।
साउन १ गते विधिवत् रूपमा लुतो फालिएपछि हिलो मौलोको काम सकिएको र बर्खाभरि काममै व्यस्त हुँदा शरीर सफा गर्न नभ्याएकाले साउन महिनालाई नुहाइधुवाइको महिनाको रूपमा पनि लिने गरिन्छ ।
सरसफाइका साथै साउन महिनामा महिलाहरूले हरियो लगाउने गर्छन् जसलाई धार्मिक पाटोसँग पनि जोड्ने गरिएको छ । हिन्दु धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो, रातो र पहेँलो चुरा, पोते लगाएको लोककथन छ ।

त्यसैले विवाहित महिलाले सौभाग्य पतिको रूपमा रातो, हरियो र पहेँलो चुरा लगाउने गर्दछन् भने अविवाहित युवतीले पनि राम्रो वर प्राप्त होस् भन्ने उद्देश्यले हरियो र पहेँलो चुरा लगाउने प्रचलन चलिआएको छ ।

यी तीन रङका चुरा र पोतेले प्रकृतिसँग नजिक गराउने र पहेँलोले भगवान् शिव प्रतिको त्याग देखाउने भएकोले साउन महिनामा हरियो, रातो र पहेँलो कपडा, र चुरा लगाउने चलन रहेको छ ।

हरिया, पहेँला वस्त्र तथा गरगहना लगाएर भगवान् शिवको पूजा आराधना गर्दा मनोकाङ्क्षा पुरा हुने धार्मिक मान्यता रहेको छ । साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले यो महिनाभरि महिलाहरू हरियो, पहेँलो र रातो चुरा लगाउँछन् ।

चर्चामा

सम्बन्धित समाचार