• होमपेज
  • खेलकुद
  • सन्दीपको भिसाका लागि सरकारले पहल गर्ने, खेलकुदमन्त्री समन्वयमा

सन्दीपको भिसाका लागि सरकारले पहल गर्ने, खेलकुदमन्त्री समन्वयमा

  • बिहिबार, जेष्ठ १०, २०८१
सन्दीपको भिसाका लागि सरकारले पहल गर्ने, खेलकुदमन्त्री समन्वयमा

काठमाडौं —अमेरिकाले नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जानका लागि भिसा नदिएपछि सरकार गम्भीर बनेको छ । तालुकदार निकायहरूले सन्दीपको भिसा खुलाउन आवश्यक पहल अगाडि बढाएका छन् ।

हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन । सन्दीपसँग यसअघि अमेरिकाको पाँच वर्षे मल्टिपल भिसा थियो । तर, उक्त भिसा दूतावासले एकपक्षीय निर्णय गरेर बीचमै रद्द गरिदिएको बुझिएको छ । त्यही भएर अहिले फेरि भिसाका लागि आवेदन दिनुपरेको हो ।

हिजो सन्दीपले स्टाटस लेखेर आफूलाई दोस्रोपटक भिसा दिन दूतावासले अस्वीकार गरेको जानकारी दिएका थिए । त्यसलगत्तै नेपाली क्रिकेट समर्थकले दूतावासको चर्को आलोचना गरिरहेका छन् । दूतावासले अहिलेसम्म कुनै पनि प्रष्टीकरण दिएको छैन । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सभागी हुने कार्यक्रममा भाग लिन लुम्बिनी पुगेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले हिजै खेलकुद परिषद, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म सन्दीपको इस्यूबारे अवगत गराएको थियो । सबैले यसलाई गम्भीरतापूर्वक लिएको क्यान स्रोतले बतायो । खासगरी खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ सक्रियतापूर्वक पहलकदमीमा लागेका छन् । क्यान सचिव पारस खड्का र सन्दीपसँग उनको आज बिहानैदेखि छलफल भइरहेको छ ।

नेपाल प्रेससँग कुरा गर्दै खेलकुदमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रियागत रुपमा पहल अगाडि बढाइने बताए ।

उनले भने, ‘यो विषयलाई हामीले गम्भीररूपमा लिएका छन् । प्रक्रियागतरूपमा आवश्यक पहलकदमी भइरहेको छ ।’

क्यानले सन्दीपको भिसा प्रक्रियाका विषयमा अवगत गराउँदै खेलकुद परिषदमा पत्र पठाएको छ । क्यानको पत्रमा अदालतले सन्दीपको मुद्दामा गरेको फैसला, आइसीसीले सन्दीपलाई विश्वकप खेल्न दिएको अनुमतिपत्र, क्यानले सन्दीपलाई टीममा समावेश गर्न गरेको निर्णयका कपिहरु समावेश छन् ।

क्यानले पठाएको पत्र र डकुमेन्टबारे अध्ययन भइरहेको खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले बताए ।

उनले भने, ‘सबै डकुमेन्टहरू अध्ययन गरेर हामी तालुकदार खेलकुद मन्त्रालयमा आवश्यक सिफारिस गर्नेछौं । खेलकुद मन्त्रालयले परराष्ट्रमा पठाउने छ ।’

आज सार्वजनिक विदाका कारण अमेरिकी दूतावास खुलेको छैन । क्यान अध्यक्ष चतुरबहादुर चन्दले भोलि सरकारी स्तरबाट अमेरिकी दूतावासमा प्रक्रिया अघि बढाइने बताए । उनले विश्वकपका लागि अझै केही दिन बाँकी रहेको भन्दै सन्दीपलाई दूतावासले समयमै भिसा दिने आशा व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार