बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • खेलकुद
  • प्रिमियर कपमा नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कपमा नेपालले युएईसँग सेमिफाइनल खेल्दै

  • शुक्रबार, बैशाख ७, २०८१
प्रिमियर कपमा नेपालले युएईसँग सेमिफाइनल खेल्दै

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।

नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाललाई त्यस हारको समेत बदला लिने अवसर समेत छ ।

नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा महत्वपूर्ण हुनेछ । कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्र राम्रो लयमा पनि छन् । उनलाई साथ दिन आवश्यक छ । युएईविरुद्ध गुलशन झाको इतिहास राम्रो छ ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट नेपाल पावर प्लेमा आक्रामक सुरुवात चाहन्छ । रोहित पौडेल, कुशल मल्ल, गुलशन झा र सन्दीप जोराले पनि जिम्मेवारी लिनुपर्छ । करण केसी र सोमपाल कामीको सुरुवाती स्पेल महत्वपूर्ण हुनेछ ।

युएईका ब्याटरको स्पिनरविरुद्ध त्यति राम्रो इतिहास छैन । त्यसैले दीपेन्द्र र ललितको स्पेल निर्णायक बन्न सक्छ । साउदी अरेवियासँगको खेलमा खेलेका प्रतिश जिसीकोे स्थानमा सोमपाल फर्किने पक्काजस्तै छ ।

युएईका कप्तान मोहम्मद वासिम, एलिशान शराफु र आसिफ खान प्रमुख ब्याटर हुन् । एलिसान शराफुले ४ खेलमा २ अर्धशतकसहित १८९ रन बनाउँदै यो प्रतियोगितामा धेरै रन जोड्नेको सूचीमा तेस्रो स्थानमा छन् । आसिफ खान ४ मध्ये ३ खेलमा अर्धशतकका साथ २११ रन जोड्दै शीर्ष स्थानमा छन् ।

मोहम्मद वासिम १५८ रनका साथ पाँचौं स्थानमा छन् । बासिल हामिद, आयन खान र अली नासिर पनि मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्ने खुबी भएका क्रिकेटर हुन् । यसअघि जस्तो वासिममा मात्रै युएई निर्भर देखिँदैन । बलिङ युएईको कमजोर पक्ष हो ।

हेड टु हेड

नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ ।

आज वर्षाले खेलमा असर नपार्ने देखिन्छ । प्रतियोगिता विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । दोस्रो सेमिफाइनल खेलमा आज हङकङ र ओमानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ । तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा ।

यूएईको टोली : मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।

चर्चामा

सम्बन्धित समाचार