बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • आगलागीपछि कर्णाली पुलको अवस्था अध्ययन हुँदै, बुधबारसम्म प्रतिवेदन आउने

आगलागीपछि कर्णाली पुलको अवस्था अध्ययन हुँदै, बुधबारसम्म प्रतिवेदन आउने

  • मङ्लबार, फाल्गुन २९, २०८०
आगलागीपछि कर्णाली पुलको अवस्था अध्ययन हुँदै, बुधबारसम्म प्रतिवेदन आउने

काठमाडौं — सोमबार ट्रकमा लागेको आगोले लठ्ठामा क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशलाई अन्य प्रदेशसँग जोड्ने कर्णाली पुल बन्द भएको छ ।

आगलागीले पुलमा पुगेको क्षतिबारे विज्ञ टोलीबाट अध्ययन भइरहेको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामहरि पोखरेलका अनुसार अहिले विज्ञ टोली पुल पुगेको छ । टोलीले बुधबारसम्म प्रारम्भिक प्रतिवेदन बुझाउने छ ।

‘आगलागीबाट पुलमा कति क्षति भएको छ, त्यो कति जोखिमपूर्ण हो भन्नेबारे विज्ञ टोलीले अध्ययन गर्छ,’ पोखरेलले भने, ‘त्यसपछि हामी निर्णय गर्छौं ।’

अहिले कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ । यसलाई विभागले गम्भीरता साथ लिएर अध्ययन गरिरहेको समेत उनले बताए । ‘हामी निकै गम्भीरता साथ यसलाई अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘छिट्टै अध्ययन सकाएर प्रतिवेदन आउने छ ।’

सोमबार वीरगञ्जबाट पश्चिमतर्फ गइरहेको ना५ख ५२९७ नम्बरको ट्रकमा आगलागी भएको थियो । चालकले ट्रक पुलमाथि नै छाडेर भाग्दा आगोले पुलमा समेत क्षति गरेको हो ।

आगो नियन्त्रणमा लिन चार घण्टा लागेको थियो । ग्यास लाइटर बोकेको ट्रकसमेत जलेर नष्ट भएको छ । एकमात्र खम्बाको भरमा अडिएको यो पुल नमुना पुलका रूपमा चर्चित छ ।

खम्बासँग लठ्ठाको सहायतामा पुल अड्याइएको यो नमुना पुलका लठ्ठामा आगलागीबाट क्षति पुग्दा पुलको समग्र भौतिक संरचनामा असर पर्ने भएकाले विभागले विज्ञ टोली पठाएर अध्ययन गर्न लागेको हो ।

राष्ट्रिय समाचार समितिले सडक विभिजन कार्यालय नेपालगञ्जलाई उद्धृत गर्दै जनाए अनुसार आगलागीबाट पुलको कुल १४ सपोर्ट डोरीमा आंशिक क्षति पुगेको छ । कार्यालयको टिमसमेत सोमबार नै घटनास्थल पुगेर अवलोकन गरेको थियो ।

विकल्प प्रयोग गरी यातायात व्यवस्थापन

सडक विभागका प्रवक्ता पोखरेलका अनुसार कर्णाली पुलबाट सवारी आवागमन अवरुद्ध भएसँगै वैकल्पिक मार्ग प्रयोग गरी यातायात व्यवस्थापन गरिएको छ ।

सदूरपश्चिमबाट पूर्वतर्फ जाने र काठमाडौंसहित पूर्वबाट सुदूरपश्चिम जाने सवारी साधनलाई कैलालीको सत्ति पुलबाट आवतजावत गर्न सकिने गरी यातायात व्यवस्थापन मिलाइएको उनले जानकारी दिए ।

किन महत्वपूर्ण छ यो पुल ?

जापानी कम्पनीले सन् १९९३ मा कर्णाली पुल निर्माण सम्पन्न गरेको थियो । यो पुल ५ सय मिटर लामो छ । बीचमा ठडिएको अग्लो खम्बामा दुवैतर्फ स्टिलका लठ्ठाले बाँधेर पुल निर्माण गरिएको छ । नमुना डिजाइनका कारण यो पुल यातायात मात्र नभई पर्यटकका बीचमा समेत उत्तिकै लोकप्रिय छ ।

यस भेग भ्रमणमा पुग्नेले पुल नजिक सवारीसाधन रोकेर सेल्फी लिने गर्छन् । यो पुल बनेसँगै चिसापानी बजारको विकास समेत तीव्रतासाथ भएको हो । यहाँ कर्णाली नदीमा मारिएका माछा खान, पौडी खेल्न र र्‍याफ्टिङ गर्न वर्षेनि हजारौं पर्यटक पुग्ने गर्छन् ।

चर्चामा

सम्बन्धित समाचार