सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका मन्त्री शाही र देउवाले काठमाण्डाै गए वाफत एक वर्षमा २० लाख खर्च

सुदूरपश्चिमका मन्त्री शाही र देउवाले काठमाण्डाै गए वाफत एक वर्षमा २० लाख खर्च

  • बुधबार, फाल्गुन १६, २०८०
सुदूरपश्चिमका मन्त्री शाही र देउवाले काठमाण्डाै गए वाफत एक वर्षमा २० लाख खर्च

एक वर्षमा २२ पटक संघीय राजधानी ओहोरदोहोर गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई उनका मन्त्रीहरुले पनि पछ्याएको पाइएको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले एक वर्ष अवधिमा २१ पटक र भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले १५ पटक काठमाडौं आवतजावत गरेको पाइएको छ ।

शाहीले २७ माघ २०७९ मा मन्त्रीको पदभार ग्रहण गरेका थिए । मन्त्री भएपछि २२ फागुन २०७९ मा पहिलोपटक काठमाडौं गएका शाहीले एकै महिनामा तीन पटकसम्म काठमाडौं आउजाउ गरेका छन् । मन्त्री शाहीले निजी सचिवालयका कर्मचारी र सुरक्षागार्ड समेत गरेर हवाई भाडा र भ्रमण भत्तामा १२ लाख ५२ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

मन्त्रालयका सूचना अधिकारी धनबहादुर रोकायाले उपलब्ध गराएको सूचनामा मन्त्री शाही, उनको निजी सचिवालयका कर्मचारी र सुरक्षागार्डले काठमाडौँ ओहोरोदोहोरमा मात्र उक्त रकम खर्च गरेको उल्लेख गरिएको छ । शाहीले हवाई भाडा वापत तीन लाख ३३ हजार र दैनिक भ्रमण भत्तामा दुई लाख ३४ हजार रुपैयाँ गरेर काठमाडौं आउजाउमा पाँच लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् ।

यस्तै उनका स्वकीय सचिव विकासजंग शाहीले एक लाख ६१ हजार, धीरेन्द्र शाहीले ७६ हजार, निजी सुरक्षागार्ड शिवशंकर जोशीले तीन लाख ५० हजार र दीपक विष्टले ९६ हजार रुपैयाँ लिएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रायः मुख्यमन्त्री शाहसँगै काठमाडौँ जाने गरेका मन्त्री शाही र उनको सचिवालयका सदस्यहरुको खर्च भने शाहको भन्दा बढी देखिएको छ । मुख्यमन्त्री शाहले २ पटक काठमाडौं आउजा गर्दा साढे ८ लाख रुपैयाँ खर्च गरेका थिए ।

मन्त्री शाहीले भने प्रदेशको विकास तथा समृद्धिसँग जोडिएका मुद्दाका सम्बन्धमा माथिल्लो तहमा भेटघाट तथा छलफल गर्न संघीय राजधानी आउने/जानु पर्ने अवस्था रहेको बताए । ‘प्रदेशमा लगानी भित्र्याउने, यहाँका विकास, निर्माणका एजेन्डाका विषयमा छलफल गर्ने जस्ता कामका लागि त्यसरी गइएको हो,’ मन्त्री शाहीले भने, ‘तर हामीले काठमाडौँ आउजाउ गर्दा भएको खर्च कानुनसम्मत नै छ ।’

भौतिक पूर्वाधार विकासमन्त्री देउवा भने २१ फागुन २०७९ देखि ८ पुस २०८० सम्म १५ पटक काठमाडौं आउजाउ गर्दा ६ लाख ७९ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । एक महिनामा दुई पटकसम्म काठमाडौं गएका देउवाले हवाई भाडामा दुई लाख ६७ हजार र दैनिक भ्रमण भत्ता वापत एक लाख ४३ हजार गरेर तीन लाख ७१ हजार रुपैयाँ खर्च गरेका छन् ।

मन्त्रालयका सूचना अधिकारी सुरेशराज भट्टले उपलब्ध गराएको विवरणमा मन्त्री देउवाले उक्त रकम खर्च गरेको उल्लेख गरिएको छ । उनका निजी सचिवालयका सदस्यले दुई लाख ९९ हजार रुपैयाँ खर्च गरेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ । मन्त्रालयले भने मन्त्री देउवा मन्त्रालयको कामकाजको सिलसिलामा नै संघीय राजधानी आउजाउ गरेको बताउँदै आएको छ ।

यो विषयमा प्रतिक्रिया लिन खोज्दा मन्त्री देउवा सम्पर्कमा आएनन् । उनका स्वकीय सचिव रमेश चन्दले भने मन्त्रीको काठमाडौँ भ्रमणमा भएको खर्चबारे मन्त्रालयबाटै प्रतिक्रिया लिन आग्रह गरे । ‘मन्त्रीज्यू अहिले एउटा कार्यक्रममा हुनुहुन्छ । त्यो विषयमा मन्त्रालयबाटै जानकारी लिनु न है,’ चन्दले भने । अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार