बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाचार
  • अत्तरिया उद्योग वाणिज्य संघका महासचिवसहित ४ जनाले गरे आत्मसमर्पण

अत्तरिया उद्योग वाणिज्य संघका महासचिवसहित ४ जनाले गरे आत्मसमर्पण

  • शनिबार, माघ २०, २०८०
अत्तरिया उद्योग वाणिज्य संघका महासचिवसहित ४ जनाले गरे आत्मसमर्पण

धनगढी– अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भएको नक्कली टिकट बिक्री प्रकरणमा चार जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोपमा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलीपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चारै जना शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आफैं उपस्थित भएपछि हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए । नक्कली टिकट बिक्री प्रकरणमा अध्यक्षसहितका १२ जना पदाधिकारीले सुरुमा साउँद र महराकाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

तर संघका अध्यक्ष कल्याणसिंह बोहराले भोलिपल्ट महासचिव खड्का र बोगटीकाविरुद्ध पनि किटानी जाहेरी दिएका थिए । उनले घटनालाई सेफ ल्यान्डिङ गर्न अर्को किटानी जाहेरी दिनुपरेको महासचिवलाई भनेको अडियोसमेत बाहिरिएको थियो ।

यो प्रकरणमा जोडिएका संघका सचिव दिलीपकुमार साउँद गोदावरी नगरपालिकाका मेयरका स्वकीय सचिवसमेत हुन् तर घटनामा मुछिएपछि भने मेयरको सचिवालयले उनलाई हटाएको छ । संघले साउँदलाई टिकट व्यवस्थापनको जिम्मा दिएको थियो भने दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराले बिक्री गर्ने गरेका थिए ।

२६ पुसदेखि सुरु भएको प्रादेशिक महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरी आर्थिक अनियमितता गरेको भन्दै संघले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार