शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फुटबल
  • प्रिमियर लिग : टोटनह्याम र म्यानचेस्टरले अंक बाँडे

प्रिमियर लिग : टोटनह्याम र म्यानचेस्टरले अंक बाँडे

  • सोमवार, माघ १, २०८०
प्रिमियर लिग : टोटनह्याम र म्यानचेस्टरले अंक बाँडे

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम हटस्परले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन् ।

घरेलु मैदानमा युनाइटेडले २ पटक अग्रता लिए पनि जोगाउन असफल रह्यो । रासमस होजलन्डले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गर्दै ओल्ड ट्राफोर्डमा उपस्थित समर्थकलाई खुसी दिलाएका थिए ।

तर, १९ औं मिनेटमा रिचार्लिसनले पेड्रोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि युनाइटेडका समर्थक स्तब्ध भएका थिए ।

४० औं मिनेटमा मार्कस रासफोर्डले होजलन्डको पासमा गोल गर्दै पुनः २–१ को अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुमै रोड्रिगो वेन्टकुरले टिमो वार्नरको पासमा गोल गरेपछि टोटनह्यामले २–२ को बराबरीमा खेल ल्याएको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि एक एक अंकमा चित्त बुझाए । टोटनह्याम ४० अंकसहित तालिकाको पाँचौं तथा युनाइटेड ३२ अंकसहित सातौं स्थानमा रहेको छ ।

आइतबार नै भएको अर्को खेलमा एभर्टन र एस्टन भिल्लाले पनि अंक बाँडेका छन् । एभर्टनको मैदानमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका हुन् । जारी सिजनमा एस्टन भिल्ला ४३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने एभर्टन १७ अंकका साथ १७ औं स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार