आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • क्रिकेट
  • प्रधानमन्त्री कपमा सुदूरपश्चिमको तेस्रो जित, बागमती पराजित

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको तेस्रो जित, बागमती पराजित

  • सोमवार, पुस ९, २०८०
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको तेस्रो जित, बागमती पराजित

काठमाडौं —प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा सोमबार सुदूरपश्चिम बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमलाई तेस्रो जित दिलाउने क्रममा कविता जोशीले अलराउण्ड प्रदर्शन गरिन् । उनी ब्याटिङमा २७ रनमा अविजित रहिन् भने बलिङतर्फ २ विकेट लिइन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीले दिएको ८८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक २८ रन बनाइकी थिइन् ।

बागमतीका लागि अस्मिना कर्मचार्य र सोनी पाख्रिनले समान १/१ विकेट लिए ।

बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाउँदा ओपनर कञ्चन श्रेष्ठले सर्वाधिक १९ रन बनाइन् । अर्की ओपनर हेलिशा गुरुङले १६, सोनी पाख्रिनले १३ र सलिना सिलवालले १० रन बनाइन् ।

सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले समान २/२ विकेट लिइन् । मनिषा चौधरी र जानकी जोशीले १/१ विकेट लिए । जारी प्रधानमन्त्री कपमा बागमतीको दोस्रो हार हो । बागमती यसअघि कोशी प्रदेशसँग ८ विकेटले पराजित भएको थियो ।

उसले पहिलो खेलमा मधेशलाई २८ रनले र त्यसपछि गण्डकीलाई ४ विकेटले पराजित गरेको थियो ।

पहिलो खेलमा एपीएफसँग ९ विकेटले हारेको सुदूरपश्चिमले दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले र तेस्रो खेलमा कर्णालीलाई ८१ रनले पराजित गरेको थियो ।

सुदूरपश्चिमले अर्को खेल मधेश प्रदेशसँग खेल्नेछ भने बागमतीले लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार