शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल पम्पबाटै कृतिम अभाव सिर्जना

सुदूरपश्चिममा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल पम्पबाटै कृतिम अभाव सिर्जना

  • आइतवार, पुस १, २०८०
सुदूरपश्चिममा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल पम्पबाटै कृतिम अभाव सिर्जना

धनगढी —सुदूरपश्चिममा पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गरिएको छ। नेपाल आयल निगम, प्रादेशिक डिपो धनगढीमा पेट्रोलियम पदार्थ मौज्दात पर्याप्त भए पनि डिलरहरुले लिन मानेका छैनन्।

गत शुक्रवार आयल निगमबाट डिलहरुले पेट्रोलियम पदार्थ बिक्रीका लागि खरिद गरेका थिएनन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने भन्दै व्यापारीले खरिद गर्न नमानेका हुन्। नेपाल आयल निगम, प्रादेशिक कार्यालय धनगढीका प्रमुख मोहनकुमार शाहले आइतवार दिउँसोसम्म धनगढीका पेट्रोल पम्पहरूमा पेट्रोल पठाएको बताए।

उनले भने, ‘हामीसँग पेट्रोलियम पदार्थ थियो। तर, व्यापारीहरूले उठाउनु भएन। शुक्रवार नउठाएपछि बिचमा शनिवार भयो। आज बजारमा पेट्रोलिम पदार्थको अभाव देखिएको हो।’ आयल निगमले शुक्रवार राति तीन÷तीन रुपैयाँ डिजेल र पेट्रोलको मूल्य घटाएको थियो। सोही कारणले पेट्रोल पम्पका सञ्चालकहरूले शुक्रवार दिउसो इन्धन नउठाएको शाहले बताए।

आयल निगमको प्रादेशिक डिपोमा इन्धन भएपनि आज (आइतवार) बजारमा अभाव छ। आज दिउँसोसम्म धनगढीका पम्पहरुमा इन्धन आपूर्ति भएको छैन। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले पेट्रोल पम्पहरूको अनुगमन गरेको बताए। उनले आयल निगमका प्रमुखलाई पेट्रोल पम्पहरुमा इन्धन नभएको जानकारी गराएको बताए।

आयल निगम, प्रादेशिक कार्यालय, धनगढीका प्रमुख शाहले पनि अनुगमन गरेका थिए। उनले धनगढीको हरि आयल, पुरवार, डिके लगायतका पम्पहरुको अनुगमन गरेका हुन्। अन्तरर्राष्ट्रिय बजारमा १५–१५ दिनमा इन्धनको मूल्य परिवर्तन हुन्छ। सोही कारणले पम्पका सञ्चालकहरूले नउठाउने गरेका हुन्।

पम्पका सञ्चालकहरूले नयाँ मूल्य सूची आउने समय हरेक महिनाको १ र १५ तारेख आसपासमा इन्धन खरिद गर्दैनन्। जसको प्रत्यक्ष असर उपभोक्तामा पर्दै आएको छ। बजारमा माग र आपूर्तिमा तालमेल नमिल्दा १ र १५ तारिख आसपासमा उपभोक्तालाई सहज रुपमा पेट्रोलियम पदार्थ पाउन मुश्किल हुने गरेको छ।

चर्चामा

सम्बन्धित समाचार