बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न माग

सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न माग

  • बिहिबार, मंसिर १४, २०८०
सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न माग

धनगढी— सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न पर्याप्त काम नभएको सरोकारवालाले बताएका छन्। संविधान र अन्य कानुनमा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापन सहज बनाउन तय गरेका व्यवस्था कार्यान्वयन नभएको गुनासो सरोकारवालाको छ।

राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशले बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कानुनले व्यवस्था गरिएका अधिकार अपाङ्गता भएका व्यक्तिहरुले उपभोग गर्न नपाएको बताइएको छ।

अपाङ्गता भएका व्यक्तिको हक अधिकार संरक्षण र प्रबर्द्धनका लागि २०५० सालदेखि राष्ट्रिय अपाङ्ग महासंघ क्रियाशील रहे पनि प्रादेशिक र स्थानीय तहमा अपाङ्गमैत्री भौतिक निर्माण हुन नसकेको अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउँदले बताए।

अपाङ्गता भएका व्यक्तिलाई सरकारी निकायबाट सेवा लिन निकै समस्या हुने गरेको छ। सरकरी भवन निर्माण गर्दा अपाङ्ग मैत्री संरचना बन्न सकेका छैनन्। ‘हाम्रा समस्याको विषयमा आवाज बुलन्द गर्न मिडियाको पनि हामीलाई सहयोग रहेको छ’, साउँदले भने। पत्रकार सम्मेलनमा अध्यक्ष साउँदले प्रतिभा र क्षमता भएका अपाङ्गता भएका व्यक्तिलाई सरकारले अवसर दिएर सक्षम हुन सक्ने वातावरण निर्माण गरिनुपर्ने बताए।

‘सबै किसिमका अपाङ्गता भएका व्यक्तिले कानुनले व्यवस्था गरेको सुबिधा पाउनुपर्ने हुन्छ। अपाङ्गता भएका व्यक्तिहरूको मुल प्रवाहिकरणमा सरकारले मुख्य जिम्मेवारी लिएर काम गर्न सकेको छैन। जसका कारण अपाङ्गता भएका व्यक्तिले दोहोरो तेहरो समस्या भोग्नुपरेको छ’, साउँदले भने।

हाल सुदूरपश्चिम प्रदेशमा ४२ वटा संस्था राष्ट्रिय अपाङ्ग महासंघमा आवद्ध रहेका छ्न्। सुदूरपश्चिम प्रदेशमा ७० हजार ८ जना अपाङ्गता भएका व्यक्ति रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार