बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी अभाव, प्रदेश र केन्द्रबाट पठाइँदै

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी अभाव, प्रदेश र केन्द्रबाट पठाइँदै

  • शनिबार, कार्तिक १८, २०८०
भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी अभाव, प्रदेश र केन्द्रबाट पठाइँदै

काठमाडौं —भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा घाइतेको उपचार गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले स्वास्थ्यकर्मी र उपचार सामग्री पठाएको छ ।

तर घाइतेको संख्या बढिरहेको र सीमित स्वास्थ्यकर्मीले उपचार गर्नुपर्ने भएकाले व्यवस्थापनमा कठिन भएको कर्णाली स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा. रविन खड्काले जानकारी दिए ।

भूकम्पबाट घाइतेको उपचारमा शुक्रबार रातिदेखि खटिरहेका स्वास्थ्यकर्मीलाई कसरी पालो दिने भन्ने विषयमा छलफल भइरहेको पनि उनले बताए । ‘प्रभावित क्षेत्रको लागि धेरै भन्दा धेरै स्वास्थ्यकर्मी र उपकरण चाहिने देखिएको छ । यसको लागि हामीले केन्द्र सरकारसँग पनि समन्वय गरिरहेका छौँ’, डा. खड्काले भने ।

निर्देशनालयले सुर्खेतबाट शनिबार बिहानै दुई वटा गाडीमा चिकित्सक र उपचार सामग्री पठाएको छ । हालसम्म भूकम्पबाट १३८ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएको प्रहरीको तथ्यांक छ । तर स्थानीय स्तरबाट त्यस भन्दा बढी क्षति भएको विवरणहरु आइरहेका छन् । कर्णाली स्वास्थ्य निर्देशनालयका अनुसार डा. खड्काका अनुसार विशेषज्ञ चिकित्सक, चिकित्सक, नर्स गरी ८४ जना स्वास्थ्यकर्मी खटाइएको छ । केन्द्रबाट थप २० जना स्वास्थ्यकर्मीको टोली पनि प्रभावित क्षेत्रमा पठाइएको छ ।

दैलेख, सुर्खेत, मुगु र डोल्पा लगायतका कम प्रभावित जिल्लाका स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइएको छ । लुम्बिनी र गण्डकी प्रदेशका अस्पतालबाट पनि स्वास्थ्यकर्मी र उपचार सामग्री जाजरकोटतर्फ गएका छन् ।

‘दुई वटा जिल्लाका घाइतेलाई तत्कालको लागि स्वास्थ्य सामग्रीहरु पठाएका छौं । केन्द्रको एक टोली हेलिकप्टरबाट, सुर्खेतको एक टोली हेलिकप्टर र एक टोली स्थलमार्गबाट गइरहेको छ’, डा. खड्काले भने ।

उनका अनुसार सामान्य खालका घाइतेको उपचार आधारभूत अस्पताल र स्वास्थ्यचौकीमा, मध्यम खालका घाइतेको जिल्ला अस्पतालमा र गम्भीर खालका बिरामीको सुर्खेतस्थित प्रादेशिक अस्पताल र नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजमा उपचार गर्ने तय भएको छ ।

अहिलेसम्म गम्भीर घाइते भएका १५ जनाको सुर्खेत प्रादेशिक अस्पतालमा र केहीको भेरी अस्पतालमा उपचार भइरहेको निर्देशनालय प्रमुख डा. खड्काले बताए ।

चर्चामा

सम्बन्धित समाचार