शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रदेश ३
  • बैंक ब्याजदर वृद्धि विरुद्ध आन्दोलन —उपाध्यक्ष वैद्य

बैंक ब्याजदर वृद्धि विरुद्ध आन्दोलन —उपाध्यक्ष वैद्य

  • बुधबार, कार्तिक १५, २०८०
बैंक ब्याजदर वृद्धि विरुद्ध आन्दोलन —उपाध्यक्ष वैद्य

भक्तपुर— नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले बैंकहरुले आफूखुसी जथाभावी रुपमा ब्याजदर वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।

मंगलबार आयोजित भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ चितवनबीच भ्रातृत्व सम्बन्ध कायम तथा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उपाध्यक्ष वैद्यले नेपाल सरकार, राष्ट्र बैंकलाई समेत बेवास्ता गरी जथाभावी ब्याजदर वृद्धि गरिरहेकोले आफूहरु आन्दोलनको तयारीमा रहेको बताए ।

‘यसअघि पनि हामीले व्यवसायीहरुले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी विभिन्न स्वरुपबाट ब्याजदर घटाउनको लागि दबाब दिएका थियौं’, उनले भने, ‘फेरि पनि बैंकहरुले मनोमानी तरिकाले ब्याजदर वृद्धि गरेकाले पुनः हामी आन्दोलित हुनुको विकल्प छैन ।’ उनले महासंघले गर्न आन्दोलनमा साथ दिन सबै उद्योगी व्यवसायीहरुसँग आग्रह गरेका छन ।

सुरुमै काठमाडौंका ठूलाठूला उद्योगी व्यवसायीहरुले उद्योग, व्यवसाय बन्द गरेर आन्दोलन थाल्ने बताउँदै उनले जिल्लास्तरमा पनि उद्योगहरु बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपिल गरे । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले वर्तमान अवस्थामा उद्योगी, व्यवसायीहरु भयावह अवस्थामा रहेको बताएका छन् ।

लामो समयदेखि आर्थिक मन्दीका कारण चौपटमा रहेको व्यापार, व्यवसायले अझै गति लिन नसक्दा धेरैजसो उद्योगी, व्यवसायीहरु पेशाबाट पलायन हुन बाध्य भएकोमा उनले चिन्ता व्यक्त गरे । उनले समयमै सरकारले उद्योगी, व्यवसायीहरुको समस्यामा ध्यान नदिए देशकै अर्थतन्त्रमा गम्भीर असर पुग्ने धारणा राखे ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंक ब्याजदर र कर्जा समस्या समाधानका लागि महासंघले सरकारमाथि दबाब दिइरहेको भए पनि त्यो अपुग भएको बताए । महासंघले थप दबाब दिँदा पनि निजी क्षेत्रको माग सुनुवाई नभए देशभरका जिल्लाबाट उद्योग वाणिज्य संघहरु सशक्त रुपमा आन्दोलनमा उत्रिन बाध्य हुने उनले चेतावनी दिए ।

यसैगरी, भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद ताम्राकार, वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठलगायतले आआफ्नो धारणा राखेका थिए । यसैबीच, भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच एकआपसमा भाइचारा, समझदारी वृद्धि र सहयोग आदानप्रदान गर्ने उद्देश्यले भ्रातृत्व सम्बन्ध कायम भएको छ ।

सो क्रममा समझदारी पत्रमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष मानन्धर र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन् । महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, भक्तपुर उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठलाई रोहवरमा राखी दुई संघबीच आपसी सम्बन्ध बलियो बनाउन सहयोग अभिवृद्धि गर्नेलगायतका विषयमा समझदारी भएको हो ।

समझदारी पत्रमा भक्तपुर र चितवन क्षेत्रको व्यापार तथा उद्योग विकासका लागि एकआपसको अनुभव र विशषज्ञता आदानप्रदान गर्ने र सम्भव भएसम्म लगानी प्रवद्र्धनका लागि दुवै संघ सक्रिय रहने, दुवै संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र सचिवालयका कर्मचारीहरुबीच भ्रमण आदानप्रदान गर्ने र दुवै संघले संस्थागत विकासको क्रममा आर्जन गरेको अनुभव तथा ज्ञान आदानप्रदान गर्ने उल्लेख छ ।

यसैगरी, उद्योग वाणिज्य क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरमा आउने विभिन्न चुनौतिहरु सामना गर्ने क्रममा एकअर्कालाई हानी नोक्सानी नहुने गरी आपसी साझा दृष्टिकोण निर्माण गर्न प्रयत्न गर्ने, दुवै संघहरुबाट उद्योग, व्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको विषयमा विकसित नयाँ नयाँ गतिविधिहरुको अनुभव र सूचना आदानप्रदान गर्ने, साना तथा मझौला व्यवसाय विकासलाई विशेष ध्यान दिई आआफ्नो अनुभव आदानप्रदान गर्नेलगायतका बुँदाहरु समझदारी पत्रमा उल्लेख छ ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष मानन्धरले उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठलाई भादगाउँले टोपी लगाइदिएर जुजु धौ र आँखीझ्याल मायाको चिनो स्वरुप प्रदान गरे भने श्रेष्ठले मानन्धरलाई गैंडाको मूर्ति प्रदान गरे ।

चर्चामा

सम्बन्धित समाचार