• होमपेज
  • समाचार
  • सरकारले फेरि थप्यो सहायक रथी यमबहादुर अधिकारीको पदावधि

सरकारले फेरि थप्यो सहायक रथी यमबहादुर अधिकारीको पदावधि

  • मङ्लबार, अशोज २, २०८०
सरकारले फेरि थप्यो सहायक रथी यमबहादुर अधिकारीको पदावधि

काठमाडौं– माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपिदिएको छ । असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट थप गरिएको हो । धादिङ घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जानकारी दिए । ‘उहाँको विशेष पद सिर्जना गरेर सहायक रथीमा पदोन्नती भएको थियो । चार वर्षे त्यो पदावधि असोज १ गते सकिने भए पनि पुनः तीन वर्ष थपिएको पत्र मन्त्रालयबाट प्राप्त भएको छ,’ सैनिक प्रवक्ता एवम् सहायक रथी भण्डारीले अनलाइनखबरसँग भने ।

यसअघि सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दा अधिकारीको पदावधि थपिएकोबारे जानकारी दिएकी थिइनन् । माओवादी लडाकुहरुको सेनामा समायोजन हुँदा अधिकारीले उपसेनानीको दर्जा पाएका थिए । माओवादी लडाकुहरुले पाएको यो सबैभन्दा उपल्लो दर्जा हो ।

त्यसको केही समयपछि नै अधिकारी महासेनानी (कर्णेल) बनेका थिए । २०७६ असोज १ गतेको मन्त्रिपरिषद बैठकले उनलाई सहायक रथीमा बढुवा गरेको थियो । त्यतिबेला नेकपा माओवादी केन्द्रसहितको सरकारको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । ओली नेतृत्वको सरकारले सैनिक नियमावली अनुसार एकपटकका लागि सहायक

रथीमा बढुवा दिन सकिने व्यवस्थामा टेकेर अधिकारीलाई विशेष पद सिर्जना गरी बढुवा गरेको थियो । अधिकारीको पदावधि सकिएपछि विशेष पद स्वतः खारेज हुने भए पनि सरकारले उनको जागिर पुनः तीन वर्ष थपिदिएको छ ।

चर्चामा

सम्बन्धित समाचार