शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

  • शुक्रबार, भदौ २९, २०८०
पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह—आयोजक श्रीलङ्काबीच भिडन्त हुने भएको छ । श्रीलङ्काले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्‍यो ।निर्णायक खेलमा जित हात पारेसँगै श्रीलङ्का प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ ।

वर्षाका कारण खेल ४२—४२ ओभरमा घटाइएको थियो । पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । श्रीलङ्काका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९१ रनको योगदान गरे । उनले केवल ८७ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । सदिरा सामराबिक्रमाले पनि टोलीका लागि ४८ रनको योगदान गरे । उनले ५१ बलमा चार चौका प्रहार गरे । यी दुई ब्याट्सम्यानले एक सय रनको साझेदारी गरेका थिए ।

श्रीलङ्काको जितमा चरिथ असालंका नायक बने । उनले अविजित ४९ रन बनाए । उनले ४७ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । ओपनर पाथुम निसानकाले २९ रन बनाए । अर्का ओपनर कुशल परेरा पनि १७ रनमै पेभेलियन फर्किएका थिए ।

कप्तान दुसान सानका भने दुई रनमै आउट भए । धनन्जय डा सिल्भा पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी पाँच रन बनाउँदै पेभेलियन फर्किए । दुनिथ वेल्लालागे ‘डक आउट’ भए । प्रमोद मदुसन पनि एक रन बनाउँदै पेभेलियन फर्किए । पाकिस्तानी बलर इफ्तिखार अहमदले तीन र साहिन शाह अफरिदीले दुई विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निर्णय लिएको पाकिस्तानले पालीको खराब सुरुआत गरेको थियो । पाकिस्तानले नौ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान फाखर जामन चार रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

अर्का ओपनर अब्दुल्लाह सफिकले भने टोलीका लागि ५२ रनको योगदान गरेका थिए । उनले ६९ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । पाकिस्तानको पाली भने चौथो नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले समालेका थिए ।

विकेटकिपर ब्याट्सम्यान रिजवानले टोलीका लागि अविजित ८६ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएको रिजवानले केवल ७३ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काए । रिजवान र इफ्तिखार अहमदले टोलीका लागि एक सय आठ रनको साझेदारी गरे ।

इफ्तिखार अहमले ४०।३ ओभरमा आउट हुनुअघि ४७ रन बनाए । उनले केवल ४० बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काएका थिए । त्यसअघि तेस्रो नम्बरका ब्याट्सम्यान बाबर आजमले टोलीको खातामा २९ रन थपेका थिए ।

कप्तान आजमले ३५ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । मोहम्मद नवाजले १२ बलमा दुई चौकाको मद्दतले १२ रन बनाए । मोहम्मद ह्यारिस तीन रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानले अतिरिक्त रुपमा १५ रन पाएको थियो ।

सदाब खान पनि तीन रनमा आउट भए । साहिन शाह अफरिदी एक रनमा अविजित रहे । श्रीलङ्काली टोलीका बलर मथिसा पाथिरानाले तीन विकेट लिए । प्रमोद मदुसनले पनि दुई विकेट हात पारे । महिस थिकसना र दुनिथ वेल्लालागेले एक—एक विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार