
विराटनगर — प्रहरीकै हतियार लुटपाट गर्ने ६ जना मोरङमा पक्राउ परेका छन् । मोरङ र सुनसरीको विभिन्न ठाउँमा हतियार देखाएर लुटपाट गर्ने गिरोहले २२ भदौमा प्रहरीकै हतियार लुटेपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहबी-१ का ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, मोरङ बुढीगंगा गाउँपालिका-४ का ४० वर्षीय रिजवन मिया, बुढीगंगा-५ कै २१ वर्षीय मोहम्मद नजरूल मिया, २५ वर्षीय सिजाम आलम र भारत घर भई सुनसरी दुहबी नगरपालिका- ६ बस्ने ४० वर्षीय महम्मद आलम छन् ।
उनीहरुले मोरङ र सुनसरीमा रातको समयमा यात्रा गर्नेहरुलाई हतियार देखाएर लुटपाट गर्ने गरेको प्रहरीमा उजुरी परेको थियो । यो समूहले लुटपाट गरेको भन्दै ५ भदौमै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो । तर २२ भदौमा बुढीगंगा-४ पेठियामा यही समूहले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोसेर लगेपछि चलाइएको कारबाहीमा ६ जना पक्राउ परेका हुन् ।
ड्युटीमा रहेका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई त्यस दिन चार जनाको समूहले आक्रमण गरी हतियार लुटेर लगेको थियो ।
