सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, मतदान भोलि

एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, मतदान भोलि

  • आइतवार, भदौ १७, २०८०
एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, मतदान भोलि

बुटवल — अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् ।

कंडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा पनि सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

तर कसैले पनि दाबी नछोडेपछि सहमतिको सम्भावना करिब टरेको नेताहरु बताउँछन् । रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकटका नेताहरु प्रदेश सांसदहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले समर्थन गरेका छन् ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट नेताहरुले कँडेललाई दोहोर्‍याउने प्रयास गरिरहेका छन् । उनीहरुले एक वर्ष मात्र तदर्थ समितिको नेतृत्व गरेकाले कँडेललाई एकपटक अवसर दिनुपर्ने तर्क गरिरहेका छन् । यद्यपि कँडेलले आफ्नो गुट नभएको दाबी गरेका छन् ।

यो अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । १२ जिल्लाबाट जिल्लागत रुपमा १८६, अपांगबाट एक, मजदुरबाट ३ र खुल्लाबाट पदाधिकारीसहित १५ जना चयन हुँदैछन् ।

जसअनुसार १२ वटै जिल्ला कमिटीहरुले सहमतिमा नाम पठाउन अलग अलग वैठक सुरु भएका छन् । यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरुको पनि निर्वाचन हुने छ । पदाधिकारी पाँच जनाको हुनेछन् ।

सहमति नजुटेपछि अध्यक्ष मण्डलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन प्रक्रिया अघि बढाएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए । यद्यपि प्रदेश कमिटीमा क्लस्टरगत पदाधिकारी र सदस्य कतिजना रहने भन्ने यकिन नभएकाले अन्य निर्वाचन प्रक्रिया लम्बिएको उनले बताए ।

मतदान भएको खण्डमा भोलि बिहान मात्रै सुरु हुने भण्डारीले बताए । रुपन्देहीका अधिवेशन प्रतिनिधि खुशीराम चौधरीले पार्टी नबिग्रने गरी, कार्यकर्ता नभाँडिने र पार्टी एकतावद्ध बनाउन सक्ने नेतृत्व सहमति आउन सके मान्य हुने अन्यथा निर्वाचनबाट छान्नुपर्ने बताए ।

चौधरी जस्तै धेरै प्रतिनिधि निर्वाचनबाट नेतृत्व छानिनुपर्ने पक्षमा देखिएका छन् । तर अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यबाट एक सय जना बराबर एक जना र २३ वटा जनसंगठनबाट ८३ जना गरी एक हजार ४ प्रतिनिधि छनोट भएका छन् ।

सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

चर्चामा

सम्बन्धित समाचार