• होमपेज
  • देश
  • सुदूरको जलविद्युतमा निजी क्षेत्रको अर्बौ लगानी, १४५ मेगावाट विद्युत उत्पादन

सुदूरको जलविद्युतमा निजी क्षेत्रको अर्बौ लगानी, १४५ मेगावाट विद्युत उत्पादन

  • शुक्रबार, साउन १९, २०८०
सुदूरको जलविद्युतमा निजी क्षेत्रको अर्बौ लगानी, १४५ मेगावाट विद्युत उत्पादन

धनगढी — सुदूरपश्चिममा जलविद्युत उत्पादनमा निजी क्षेत्रको अर्बौ लगानी भइसकेको छ। सुदूरपश्चिम प्रदेशबाट १४५ दशमलव ३७ मेगावाट जलविद्युत उत्पादन हुन थालेको छ। १० ठूला जलविद्युत आयोजनाबाट सो परिमाणमा जलविद्युतको व्यवसायिक उत्पादन भइरहेको हो।

दार्चुलाको मार्मा गाउँपालिकामा रहेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाले उत्पादन सुरू गरेको छ। मार्मा गाउँपालिका–१ किमबगडमा बाँध बाधेर ६ किलोमिटर तल घट्टीगाडमा रहेको विद्युत गृहमा पानी खसालेर उत्पादन सुरु गरिएको हो।

निजी क्षेत्रको अपी पावर कम्पनी लिमिटेडले निर्माण सम्पन्न गरेको उक्त आयोजना सुदूरपश्चिमकै ठूलो मध्येको एक हो। कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी र दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले आयोजनाको संयुक्त रुपमा उद्घाटन गरेसँगै पावरहाउँसमा रहेको तीनवटा जेनरेटरबाट ४० मेगावाट विद्युत उत्पादन सुरु भएको छ। उत्पादित विजुली १६ किलोमिटर तल रहेको चमेलिया जलविद्युत आयोजनाको सव स्टेसनमा जोडिएको छ।

आयोजनाबाट उत्पादित विद्युत १३२ केभीको डबल सर्किट प्रसारण लाइनमार्फत बलाचस्थित सव स्टेसनमा जोडिएको छ। यसअघि दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाबाट नेपाल विद्युत प्राधिकरणले ३० मेगावाट जलविद्युत उत्पादन थालेको थियो। त्यसपछि निजी क्षेत्रको लगानीमा ९ वटा ठूला जलविद्युत आयोजना निर्माण सम्पन्न भई १४५ दशमलव ३७ मेगावाट जलविद्युत उत्पादन भइरहेको छ।

अपि पावर कम्पनीले आठ अर्ब रुपैयाँको लागतमा निर्माण गरेको ४० मेगावाटको आयोजनाको परीक्षण सफल भएपछि साउन ८ मा उद्घाटन गरिएको हो।

यसैगरी, बझाङको कालंगाडका तीन जलविद्युत आयोजनाबाट ६४ दशमलव ४९ मेगावाट जलविद्युत उत्पादन शुरु भएको छ। कालंगा जलविद्युत आयोजनाबाट १५ दशमलव ३३ मेगावाट र अपर कालंगाडबाट ३८ दशमलव ४६ मेगावाट जलविद्युत २०७९ माघबाट व्यवसायिक उत्पादन शुरु भएको हो।

सानीगाड जलविद्युत आयोजनाबाट १० दशमलव ७ मेगावाट जलविद्यत व्यावसायिक उत्पादनको तयारीमा रहेको कालंगा जलविद्युत प्रालिका निर्देशक विरेन्द्र मल्लले बताए।

उनले कालंगा जलविद्युत प्रालिद्वारा प्रबद्र्वन गरिएको तीनवटै आयोजनाको उत्पादन राष्ट्रिय प्रशारणलाईनमा जोडिसकेको बताए। उनका अनुसार कालंगा जलविद्युत प्रालिले ती आयोजनाहरु निर्माण गर्न १४ अर्ब रुपैयाँ लगानी गरेको छ। दार्चुलाको नौ गाड आयोजनाबाट ८ दशमलव ५, डोटीको कापडीगाड आयोजनाबाट ३ दशमलव ३३, दार्चुलाको मकारी गाड आयोजनाबाट १०, दार्चुलाकै अपर नौ गाडबाट ८ र बझाङको सुनिगाड आयोजनाबाट ११ दशमलव शून्य ५ मेगावाट जलविद्युत उत्पादन भइरहेको विद्युत विकास विभागले जनाएको छ।

विद्युत प्राधिकरणले चमेलिया जलविद्युत आयोजना निर्माणसँगै १३२ केभिको चमेलिया–बलाँच–अत्तरिया प्रशारणलाईन र शैल्यशिखर नगरपालिका–१, बलाँचमा सबस्टेशन बनाएपछि सुदूरपश्चिममा निजी क्षेत्रले जलविद्युतमा लगानी गर्न थालेका छन्। बझाङ र दार्चुलामा उत्पादन हुने जलविद्युत सो सबस्टेशनबाट राष्ट्रिय प्रशारणलाईनमा जोडिने गरेको छ।

१३२ केभिको चमेलिया–बलाँच–अत्तरिया प्रशारणलाईनको दोस्रो सर्किट समेत गत असारबाट सञ्चालनमा आएको छ।

सुदूरपश्चिममा निजी क्षेत्रकै लगानीमा तीनवटा जलविद्युत आयोजना निर्माणाधिन छ। डोटीको गड्डी गाडमा शैलेश्वरी पावर नेपालले एक दशमलव ५५ मेगावाटको आयोजना निर्माण गरिरहेको छ।

बाजुराको कोल्टीस्थित बडिगाडमा पायोनियर हाइड्रो प्रालिले ४ दशमलव ५ मेगावाटको आयोजना बनाइरहेको छ। सुदूरपश्चिममा निर्माण भइरहेको सबै भन्दा ठूलो आयोजना ग्रिड नेपाल कम्पनी प्रालिले चमेलियामा ८५ मेगावाटको आयोजना निर्माण गरिरहेको छ।

यसैगरी, ७८७ दशमलव शून्य ५ मेगावाटका ८ वटा आयोजनाको कन्ट्रक्सन लाइसेन्स माग गरी विद्युत विकास विभागमा आवेदन परेको छ। जसमा ७ वटा आयोजनाको निर्माण लाइसेन्स निजी कम्पनीले मागेका छन्। विद्युत प्राधिकरणले २१० मेगावाटको बझाङको चैनपुर सेती जलविद्युत आयोजना निर्माणका लागि अनुमति माग गरेको छ।

निजी कम्पनीहरुले सुदूरपश्चिममा ३५३ दशमलव १ मेगावाटको ८ आयोजनाको सर्भे गरिरहेका छन् भने निजी कम्पनीहरुले २८ दशमल १५ मेगावाटका दुई आयोजना अध्ययनका लागि अनुमति मागेका छन्। ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना भारतको नेशनल हाइड्रोपावर कम्पनी (एनएचपिसि) ले अध्ययन गरिरहेको छ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको अछामको साँफेबगरस्थित २० मेगावाटको बुढीगंगा जलविद्युत आयोजनाका लागि सिभिल तथा हाइड्रो मेकानिकल कार्य गर्नका लागि अन्तराष्ट्रिय टेण्डर आव्हान गरिएको छ। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार