शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • बागमती प्रदेश सरकारको ६ वर्षमा ९४ अर्ब बढी बजेट फ्रिज

बागमती प्रदेश सरकारको ६ वर्षमा ९४ अर्ब बढी बजेट फ्रिज

  • आइतवार, साउन १४, २०८०
बागमती प्रदेश सरकारको ६ वर्षमा ९४ अर्ब बढी बजेट फ्रिज

मकवानपुर — ६ वर्षको अवधिमा बागमती प्रदेश सरकारको जम्मा ९४ अर्ब ३२ करोड ८८ लाख १९ हजार रुपैयाँ फ्रिज भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७४-०७५ देखि यता ६ वटा आर्थिक वर्षमा ल्याएको बजेटको ३६ प्रतिशत फ्रिज भएको हो ।

६ वटा आर्थिक वर्षमा गरी प्रदेश सरकारले हालसम्म २ खर्ब ६४ अर्ब ४४ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये १ खर्ब ७० अर्ब ११ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ भने ९४ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ फ्रिज भएको छ ।

बागतमी प्रदेश सरकार गठन भइ काम सुरु गरेको यो छैटौं वर्ष हो । प्रदेश सरकारले हरेक आर्थिक वर्षमा प्रदेशको विकास निर्माणका लागि बजेट सार्वजनिक गर्ने गरेको छ । जस अनुसार प्रदेश सरकारले हालसम्म ६ वटा बजेट ल्याएको छ । ६ मध्ये ५ वटा बजेट प्रदेश सरकानर आफैले ल्याएको छ भने सुरुवाती वर्ष प्रदेश सरकारलाई केन्द्रीय सरकारले बजेट उपलब्ध गराएको थियो ।

२०७४ माघ ३ गते तत्कालीन सरकारले संघीयता कार्यान्वयन गर्दै साविक प्रदेश ३ को राजधानी हेटौंडा तोकी प्रदेश प्रमुख नियुक्त गरेको थियो भने सोही वर्षको मंसिरमा भएको निर्वाचनबाट निर्वाचित सांसदहरु सदस्य रहने गरी प्रदेशसभा गठन गरेको थियो ।

उक्त प्रदेशसभाबाट २०७४ माघ २८ गते तत्कालीन प्रदेश प्रमुख अनुराधा कोइरालाले एमालेबाट निर्वाचित डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गरिएको थियो ।

प्रदेश सरकार स्थापनाको समयमा ७ मन्त्रालय र निकाय रहेकामा हाल ११ मन्त्रालय कायम छन् भने तथा प्रदेश सरकार अन्तर्गत १९८ निकायले प्रदेशका १३ जिल्लाका ३३ संघीय निर्वाचन क्षेत्र, ६६ प्रादेशिक निर्वाचन क्षेत्र र ३ महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी ११९ वटा स्थानीय तहमा विकास निर्माणका काममा बजेट खर्च गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेश सरकारका काम कारबाही सञ्चालनका लागि संघीय सरकारले चालुतर्फ ८७ करोड ९३ लाख ५९ हजार रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ११ लाख ५१ हजार गरी कुल १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । त्यस यता प्रदेश सरकारले आफैँले बजेट ल्याएर विभिन्न विकासको काम गर्दै आएको छ ।

प्रदेश सरकारले २०७५-०७६ मा पहिलो पटक आफैँले बजेट ल्याएको थियो । प्रदेश सरकारले सो वर्षका लागि चालुतर्फ १३ अर्ब ७५ करोड ३८ लाख रुपैयाँ र पुँजीगत तर्फ २० अर्ब २७ करोड २२ लाख रुपैयाँ गरी कुल ३४ अर्ब २ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आर्थिक वर्ष २०७६-०७७ मा प्रदेश सरकारले चालुतर्फ २० अर्ब १३ करोड एक लाख रुपैयाँ र पुँजीगत तर्फ २७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ गरी कुल ४७ अर्ब ३० करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आर्थिक वर्ष २०७७-०७८ मा प्रदेश सरकारले कुल ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो भने आर्थिक वर्ष २०७८-०७९ मा चालुतर्फ २२ अर्ब ५० करोड ५० लाख रुपैयाँ, पुँजीगत तर्फ ३३ अर्ब २१ करोड ५८ लाख रुपैयाँ गरी कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

गत आर्थिक वर्षमा भने प्रदेश सरकारले ७० अर्ब ९३ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा चालुतर्फ २६ अर्ब ८४ करोड रुपैयाँ, पुँजीगततर्फ ४४ अर्ब नौ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार