बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • आर्थिक असन्तुलन गहिरिँदै जाँदा चिनियाँ अर्थतन्त्रको गति पनि सुस्त

आर्थिक असन्तुलन गहिरिँदै जाँदा चिनियाँ अर्थतन्त्रको गति पनि सुस्त

  • बुधबार, साउन ३, २०८०
आर्थिक असन्तुलन गहिरिँदै जाँदा चिनियाँ अर्थतन्त्रको गति पनि सुस्त

आर्थिक असन्तुलन गहिरिँदै जाँदा चिनियाँ अर्थतन्त्रको गति पनि सुस्ताउन थालेको छ । यसै वर्षको जुन महिनाको तथ्यांकअनुसार चीनमा खुद्रा बिक्री घटेको छ भने निर्यातकर्ताको मागमा पनि कमी आएको छ । त्यसमाथि सुस्त औद्योगिक उत्पादनले अर्थतन्त्रको सुधारमा सुस्ता पैदा भएको छ ।

चीनमा खुद्रा वस्तुको बिक्री जुन महिनामा ३ दशमलब १ प्रतिशतले बढेको छ । यसअघि मे महिनामा यो १२ दशमलब ७ प्रतिशतले बढेको थियो । चीनको औद्योगिक उत्पादन ४ दशमलब ४ प्रतिशतले बढेको पाइएको छ । चीनमा औद्योगिक उत्पादनमा केही बढोत्तरी भएपनि मागको अवस्थामा भने सुधार आउन सकेको छैन । मे महिनामा चीनको औद्योगिक उत्पादन ३ दशमलब ५ प्रतिशत रहेको थियो ।

जुन महिनामा चीनको निर्यात १२ दशमलब ४ प्रतिशतले घटेको पाइएको छ । यो तीन वर्ष यताकै सबैभन्दा ठूलो गिरावट हो । यस्तै, चीनको आयात पनि ६ दशमलब ८ प्रतिशतले घटेको छ ।

त्यसबाहेक चीनमा प्रत्यक्ष विदेशी लगानी एफडीआईमा पनि उल्लेखनीय गिरावट देखिएको छ । यस वर्षको पहिलो ५ महिनामा चीनमा प्रत्यक्ष विदेशी लगानी ५ दशमलब ६ प्रतिशतले घटेको छ । विकसित मुलुकहरुमा उच्च मुद्रास्फीतिका कारण चीनको विदेशी व्यापारमा पनि धक्का लाग्ने अपेक्षा गरिएको छ ।

यस्तै, चीनको धितोपत्र बजारले पनि अन्य मुलुकको तुलनामा सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन । गत जनवरी महिनामा हालसम्मकै उच्च रहेको चिनियाँ धितोपत्र बजारमा त्यसयता झण्डै २० प्रतिशतको गिरावट आएको छ ।

जुन महिनामा चीनमा आन्तरिक पर्यटनमा पनि कमी आएको छ । चीनको परम्परागत ‘ड्रागन बोट फेस्टिभल’ मा आफ्नै देशभित्र घुमघाम गर्ने पर्यटकको सङ्ख्या महामारीअघिको अवस्थामा अझै आउन सकेको छैन ।

त्यसैगरी, चीनको सेवा क्षेत्रमा पनि सुस्तता आएको छ । साना, मझौता एवम् एकल व्यवसायको बर्चश्व रहेको चिनियाँ सेवा क्षेत्रको आयमा गिरावट देखिएको छ । यसकारण चीनमा सेवा क्षेत्रले कामदारको भर्ती र विस्तारमा सावधानी अपनाएको पाइएको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार मुलुकमा युवा बेरोजगारको सङ्ख्या कीर्तिमानी रुपमा बढेर २१ दशमलब ३ प्रतिशत पुगेको छ । यसअघि मे महिनामा यो २० दशमलब ८ प्रतिशत रहेको थियो ।

चीनको अर्थतन्त्रले गति नसमाते यो अझै विकराल बन्ने प्रक्षेपण गरिएको छ । बेरोजगारीको समस्याले चीनमा सामाजिक स्थीरतामा पनि खलल पु¥याउने र यसबाट मुलुकको आर्थिक आत्मविश्वासमा पनि कमी आउनसक्ने देखिन्छ ।

ऋणमा आधारित लगानी भएको अर्थतन्त्रबाट आन्तरिक उपभोगमा आधारित अर्थतन्त्रतर्फ रुपान्तरण गर्ने चिनियाँ राष्ट्रपति सी जिन्पिङको नीति सफल हुन सकेको छैन ।

चिनियाँ नेतृत्वले सामाजिक लोककल्याण र स्वास्थ्य सेवाको विस्तारमा उदासिनता देखाएका कारण चिनियाँहरु उपभोगमा खर्चभन्दा पनि बचतमा बढी केन्द्रीत हुन थालेका छन् । यसबाट अपेक्षाअनुसार उपभोगमा चिनियाँले गर्ने खर्च पनि सुस्त देखिएको छ ।

घरजग्गाको कारोबारका माध्यमबाट आय संकलन गर्ने चीनका स्थानीय सरकारहरु पनि घरजग्गा बजार ओरालो लागेसँगै वित्तीय दबाबमा रहेका छन् ।

चीनको आर्थिक वृद्धि लामो समयसम्म सुस्त रहने विश्लेषकहरुको भनाइ छ । चीन सरकारले सह–समृद्धि र उपभोगमा खर्च बढाउने नीति लिएपनि यसअनुसार संरचनागत आर्थिक सुधार गर्न नसक्दा चिनियाँ अर्थतन्त्रले गति लिन नसकेको आलोचकहरु बताउँछन् ।

सुस्ताएको अर्थतन्त्रलाई गति दिन सी जिन्पिङ नेतृत्वको सरकारलाई कठिन बन्दै गएको छ । राष्ट्रपति सीले निजी क्षेत्रको बदलामा सरकारी स्वामित्वका उद्योगमा बढी जोड दिँदै आएका छन् ।

यद्यपि चीनमा सरकारी स्वामित्वका उद्योगको उत्पादकत्वभन्दा निजी क्षेत्रकोभन्दा न्यून रहेका कारण यसबाट चिनियाँ अर्थतन्त्रमा उल्लेखनीय सुधार आउनेमा आशंका व्यक्त गरिएको छ ।

यस्तो अवस्थामा यही महिनाको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठक बस्दैछ । उक्त बैठकमा मुलुकको अर्थतन्त्रबारे शीर्ष नेताहरुले छलफल गर्ने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार