सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • देश
  • एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोमको व्यक्तिगत समयमा सुधार

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोमको व्यक्तिगत समयमा सुधार

  • बुधबार, असार २७, २०८०
एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोमको व्यक्तिगत समयमा सुधार

काठमाठौं —  थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्यामपियनसिपमा धावक सोमबहादुर कुमालले ४०० मिटरमा व्यक्तिगत समयमा सुधार गरेका छन् ।

बैंककस्थित सुपाचालासाई राष्ट्रिय स्टेडियममा बुधबार बिहान भएको ४०० मिटरको हिट चरणमा सोमले निर्धारित दूरी ४८.३३ सेकेण्डमा पूरा गरे । हिट ३ मा दौडिएका उनी आफ्नो हिटमा छैटौं भएर अघिल्लो चरणमा पुग्न भने सकेनन् ।

यसअघि २०१७ मा भारतको भुवनेश्वरमा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा उनको समय ४९.२० थियो ।

व्यक्तिगत समयमा सुधार गरेका सोम राष्ट्रिय कीर्तिमान बराबर गर्नबाट भने थोरैले चुके । नेपालमा लागि ४०० मिटरको राष्ट्रिय कीर्तिमान आशाराम चौधरीको नाममा छ ।

उनले १९९० को एसियन गेम्स ४८.३२ सेकेण्डको कीर्तिमान बनाएका थिए । ४०० मिटर दौडमा ह्याण्ड टाइमिङको कीर्तिमान भने सोमकै नाममा छ ।

त्रिभुवन आर्मी क्लबका उनले गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा ४७.९५ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

सोमले एसियन च्याम्पियनसिपमा ८०० मिटरमा समेत दौडने छन् ।

चीनमा सेप्टेम्बर अक्टोबरमा हुने एसियन गेम्सका लागि समेत उनी छनोट भएका छन् । च्याम्पियनसिपमा नेपालबाट ५ पुरुष र २ महिला गरी ७ खेलाडीको सहभागिता छ ।

चर्चामा

सम्बन्धित समाचार