बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बच्चाको घाँटीमा कुनै वस्तु अड्किए तत्काल के गर्ने ?

बच्चाको घाँटीमा कुनै वस्तु अड्किए तत्काल के गर्ने ?

  • बिहिबार, जेष्ठ ४, २०८०
बच्चाको घाँटीमा कुनै वस्तु अड्किए तत्काल के गर्ने ?

साना बालबालिका धेरै चञ्चल हुन्छन् । हरेक कुरामा उनीहरू निकै उत्साहित पनि हुन्छन् । विशेषगरी दुई वर्षसम्मका बच्चामा इन्द्रियहरूको विकास छिटोछिटो हुने भएकाले उनीहरूले कुनै नयाँ कुरा भेटे भने सबैभन्दा पहिले मुखमा नै लैजान्छन् । जसले गर्दा कहिलेकाहीं केही कुरा मुखमा लग्दा निलेर अड्किने समस्या समेत हुन्छ ।

बच्चाहरू खानेकुरामा पनि सधैं उत्साहित हुन्छन् । मनपर्ने चीज खाँदा कसरी टोक्ने, कति टोक्ने भन्ने उनीहरुलाई थाहा हुँदैन । जसकारण खाना खाँदा घाँटीमा अड्किन सक्छ । खाना खानेनलीमा सानो कुरा अड्कियो र निलियो भने त खासै समस्या हुँदैन, त्यो दिसामार्फत निस्कन्छ ।

तर श्वासप्रश्वास नलीमा कुनै वस्तु वा पदार्थ अड्किएमा श्वासप्रश्वासमा अवरोध आउँछ । यसले खोकी लाग्नुका साथै अरु गम्भीर समस्या समेत निम्त्याउन सक्छ । बालबालिकाको घाँटीमा केही कुरा अड्किए कस्तो प्राथमिक उपचार गर्ने ? भन्ने प्रश्न प्रायः अभिभावकको मनमा उब्जिरहेको हुन्छ ।

बच्चाको घाँटीमा केही अड्किए के गर्ने ?

बच्चा सानो छ भने बच्चालाई आफ्नो काखमा घोप्टो पारेर राख्नुपर्छ । त्यसपछि बच्चाको टाउको र घाँटीलाई सहारा दिनुपर्छ । बच्चाको पिठ्युँ र काँधको बीच भागमा हल्का रूपमा धाप मार्ने, यो प्रक्रिया दोहो¥याइरहनुपर्छ । यसले अड्केको चीजलाई बाहिर निकाल्छ ।

बच्चाले ठूलो स्वरले खोक्यो भने उसको मुख वा घाँटीमा केही अड्किएको संकेत हुन सक्छ । कफ नबनेसम्म खोक्न दिनुपर्छ । यस्तो अवस्थामा कफसँगै अड्किएको कुरा पनि बाहिर निस्कन्छ ।

बच्चा अलि ठूलोे छ भने उसको पेटमा दुई हातले कसेर समातेर झट्का दिनुपर्छ । यसो गर्दा अड्किएको खाना बाहिर निस्कन्छ । घाँटीको साथै कहिलेकाहीं बच्चाको नाकमा पनि केही कुरा अड्कन सक्छ, यस्तोमा अड्किएको वस्तुलाई निकाल्न सिन्काले घोच्नु हुँदैन । त्यसो गर्दा अड्किएको वस्तु झन् भित्र पस्न सक्छ । अड्किएको वस्तु धेरै भित्र पुगेको छैन, देखिन्छ भने सानो चिम्टाले समातेर त्यसलाई बाहिर निकाल्न सकिन्छ ।

यी उपाय गर्दा पनि अड्किएको चीज निस्किएन भने बच्चालाई तुरुन्त अस्पताल पु¥याएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

(डा. झा पाटन अस्पतालका वरिष्ठ बालविकास विशेषज्ञ हुन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

चर्चामा

सम्बन्धित समाचार