बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बिजनेस विहीन बन्यो सुदूरपश्चिम प्रदेशसभा

बिजनेस विहीन बन्यो सुदूरपश्चिम प्रदेशसभा

नीति निर्माण तथा जनसरोकारका मुद्दा ओझेलमा

  • मङ्लबार, बैशाख ५, २०८०
बिजनेस विहीन बन्यो सुदूरपश्चिम प्रदेशसभा

धनगढी– प्रदेशसभाको दोस्रो निर्वाचनपछि सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारमा मुद्दामा प्रवेश नै गर्न सकेको छैन । गत मंसिर ४ को निर्वाचनपछि गठित प्रदेशसभाले अहिलेसम्म दुई वटा सरकार गठन गरेको छ भने मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्तिमात्र बैठकको उपयोगिता सीमित भएको देखिन्छ ।
प्रदेश सरकारले बिजनेस दिन नसक्दा लामो समयदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । प्रदेशसभाको दोस्रो निर्वाचनयता केबल मुख्यमन्त्रीलाई समर्थन तथा विश्वासको मत दिनेमा बैठक सीमित देखिएको हो । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वास मत लिनका लागि फागुन २१ गते प्रदेशसभाको बैठक सञ्चालन भएको थियो । त्यसयता प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन ।

प्रदेशसभा दोस्रो कार्यकालमा प्रवेश गरेको चार महिनाभन्दा बढी भइसकेको छ । यो अवधिमा सरकार निर्माण र सभामुख, उपसभामुख चयनका लागि बाहेक अन्य विषयका लागि प्रदेशसभा बैठक बस्न सकेको छैन ।

अहिले प्रदेशसभा कामविहीन अवस्थामा छ । प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी युवराज जैसीले प्रदेशसभामा एउटा पनि बिजनेस नरहेका कारण बैठक सञ्चालन नभएको जानकारी दिए । प्रदेश सरकारले अहिलेसम्म प्रदेशसभा सचिवालयमा एउटा पनि विधेयक दर्ता नगराएको उनको भनाइ छ ।

उनले भने, ‘केही काम छैन । भूमिकाबिहीन जस्तै भइयो । बिजनेसको बारेमा सरकारसँग सोध्नुप¥यो ।’ प्रदेशसभा नै कामबिहीन बनेपछि जनताका आवाज उठ्न सकेका छैनन् । योसँगै प्रदेशसभा सदस्यहरु तथा सचिवालयका कर्मचारी फुर्सदिला भएका छन् ।

सदन सञ्चालनको दबाब सिर्जनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भूमिका पनि कमजोर देखिएको छ । तर नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आफूहरुले सकेसम्म सरकारलाई दबाब सिर्जना गर्दै आएको दाबी गरे ।

उनले भने, ‘मैले पहिलेदेखि भन्दै आएको छु, यो सत्ता गठबन्धन नीति र विधिसम्मत बनेको छैन । चलेको पनि छैन । जनताको काम कुरा कहाँ हो कहाँ, सत्ता र कुर्सीकै भागबण्डामा अल्झिएको छ । अहिले जनताको लागि बजेट निर्माण गर्ने बेला हो तर अत्तोपत्तो छैन ।’

केन्द्रकै मुख ताक्ने मानसिकताले समस्या : सभामुख भण्डारी

प्रदेशसभा सञ्चालन हुन नसक्नुको मुख्य कारण केन्द्रिकृत मानसिकता रहेको सभामुख भीम बहादुर भण्डारीको भनाइ छ ।भण्डारीले भने, ‘पहिलो कुरा संघीयता कार्यान्वयनमा समस्या छ । जुन कुरामा पनि केन्द्रकै मुख ताक्ने प्रवृत्ति जुनसुकै पार्टी, कर्मचारी संरचनामा छ । प्रदेश संरचनालाई मातहतको निकाय ठान्नेले बिगारेको छ । प्रदेशले स्वनिर्णय लिन सबै तहको नेतृत्वले गम्भीरता अपनाउन जरुरी छ ।’

मंसिर ४ गतेकोे निर्वाचनबाट प्रदेशसभा गठन भएपछि पहिलो बैठक पुस १५ गते बसेको थियो । त्यसपछि मुख्यमन्त्री, सभामुख, उपसभामुख चयन र विश्वासको मत लिनका लागिमात्रै प्रदेशसभा बैठक बसेको छ । अहिलेसम्म सुदूरपश्चिम प्रदेशसभाको ८ वटा बैठकमात्रै बसेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनका लागि पछिल्लो समय फागुन २१ गते प्रदेशसभाको बैठक बसेको थियो । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार