• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका दुर्गम गाउँ सडक सञ्जालमा जाेडिदै

बाजुराका दुर्गम गाउँ सडक सञ्जालमा जाेडिदै

  • शनिबार, चैत्र १८, २०७९
बाजुराका दुर्गम गाउँ सडक सञ्जालमा जाेडिदै

टेक बहादुर बुढा– बाजुराकाे दक्षिणी भेगमा अवस्थित खप्तड छेडेदह गाउँपालिकाका प्रायः जसाे सबै वडाका गाउँबस्तीमा सडक सञ्जालकाे पहुँच पुग्न थालेका छन । गाउँपालिकाका अधिकांश वडाका बस्तीहरुमा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयलाई अहिले दैनिक उपभोग्य सामग्री किनमेल तथा एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज भएको छ । गाउँपालिकाका धेरै दुर्गम बस्तीहरुमा स्थानीय सरकार आउनुपूर्व सडक नै पुगेका थिएनन् ।

स्थानीय सरकार आएपछि भने गाउँपालिकाले अहिले धेरै जसाे बस्तीमा सडक पुर्‍याएको छ । खप्तड छेडेदह ३ का दल बहादुर रावतले भने तीन बर्ष अगाडि वडामा सडकले छाेएपनि अहिले भने वडाका गाउँ गाउँमा सडक पुगेको बताए । सडक सञ्जाल नहुँदा बजार भन्दा गाउँ निकै टाढा हुँदा याहाँका नागरिकले घण्टौँ लगाएर नुन, तेल, चामल जस्ता दैनिक उपाभाेग्य समाग्रीहरु ल्याउन जानुपरेकाे रावतले स्मरण गरे । उनले भने, बाजुराका मुख्य बजार बाम्का, बेतालमाण्डु लगायतका बजारहरुमा वर्षाै अगाडि सडक आएको थियो, यहाँबाट बाजार पुगेर सामान ल्याउने गथ्यौं, पहिला त साफेँ, दिपायल लगायतका बजारमा समेत जानु पर्थ्यो, त्यहाँ जान करिब एकसाता भन्दा बढि नै लाग्थ्यो, अहिले सामान घरमै आउँछ, उतिबेला महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपर्थ्यो  उनले भने।’

खप्तड छेडेदह गाउँपालिकाले सातवटै वडाका धेरैजसो बस्तीहरुमा सडक पुर्‍याएको छ । विगतमा गाउँघरमा कृषकले उत्पादन गरेका आलु, सिमी र भाँगो खेर जाने गरेको भन्दै अहिले सहज रुपमा बजार पाउने गरेको स्थानीयकाे भनाइ रहेको छ।  गाउँपालिकाले गाउँगाउँमा सडक विस्तार गर्न हालसम्म कराेडाै रुपैया बढी लगानी गरी सकेको छ । स्थानीय ७० बर्षिया मनिकला बुढाले भनिन २० वर्ष अगाडि दिपायल, साफेँ लगायतका ठाउँबाट दैनिक उपभोग्य सामान किनेर उपभोग गर्ने गरेको बताइन ।

‘विकास भनेको नै यही हो, हाम्रो पालामा अहिलेको जस्तो मोटर गाडी हिँड्ने सडक थिएन, हामीहरु साँघुरो गोरेटोमा हिँड्थ्यौँ, बिजुली थिएन, टुकीको भरमा रात कटाउँथ्यौँ, पढ्ने लेख्ने चलन थिएन, नुन तेल ल्याउन हप्तौ हिडेर बजार जान्थ्यौँ”, बुढाले आफ्नो विगत स्मरण गर्दै भिनिन्, ‘अहिले केही कमी छैन, सबै थोक गाउँमै छ, पहिले–पहिले मान्छेहरु यहाँ विकट भयो, विकास भएन भनेर तराई तिर गए, अहिले यही तराई जस्तै हुदैछ ।’

खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले भने पालिकाका धेरैजसो गाउँ बस्तीहरुमा सडक सञ्जाल पुगिसकेको बताएका छन । भौगोलिक कठिनाइका बाबजुद पनि दुर्गम बस्ती बस्तीहरुमा विकासका ढोका खुलेको उनको भनाइ रहेको छ । सुरुका वर्षहरुमा सडक निर्माणमा जोड दिइएको र अहिले ती सडकलाई फराकिलो र बाह्रै महिना यातायात सञ्चालन हुने गरी काम भइरहेकाे बताए ।

सडक विकासको मुख्य आधार भएकाले यसलाई प्राथमिकतामा राखेर विस्तार गरिएको उनको भनाइ छ । अहिले खप्तड छेडेदह हुदै सदरमुकाम मार्तडी जाेड्ने सडक प्रदेश गाैरवकाे आयाेजनामा पाँच बर्षमा कालाेपत्री गर्ने गरि काम भइरहेको छ । भाैगाेलिक विकटता र प्राकृतिक प्रकाेपले केही समस्या हुने भएता पनि समग्र गाउँपालिकाकाे विकासका लागि लागिरहेको अध्यक्ष रावतले बताएका छन । पछिल्लो समयमा बाजुराका दुर्गम गाउँमा पनि सडक सञ्जाल जाेडिने क्रम बढ्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार