शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका २ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

बाजुराका २ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

  • बिहिबार, चैत्र २, २०७९
बाजुराका २ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

बाजुरा — बाजुराका बडीमालिका र बाजुरा क्याम्पस गरी २ वटा  क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित बनेको हाे ।

बाजुरा क्याम्पसमा नेविसंघले फर्जि विद्यार्थी भर्ना गरेको आरोप सहीत तालाबन्दी गरेपछि मनोनयन दर्ता प्रक्रिया नै हुन सकेन भने बडीमालिका क्याम्पसमा पनि अनेरास्ववियुले तालाबन्दी गरेको छ । भर्ना नै नभएका र भर्ना शुल्क समेत नतिरेका विद्यार्थीको नाम सूचीमा समेटेर क्याम्पस प्रशासनले टाँस गरेपछि अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेको हो ।

विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी सगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका दुबै क्याम्पसमा निर्वाचन अनिश्चित बनेको हो । त्रिभुवन विश्व विद्यालय अन्र्तगत बुढीनन्दा क्याम्पस कोल्टीमा भने चैत्र ५ गते निर्वाचन हुने छ । रजिष्ट्रार पाठकका अनुसार केन्द्रीय क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसमा आन्तरिक विवादका कारण बुधबार मनोनयन दर्ता हुन नसकेको हो ।

अब सम्बन्धित क्याम्पसको निर्वाचन समितिले एक महिनाभित्र निर्वाचनका लागि अर्को मिति तय गर्न सक्ने रजिष्ट्रार पाठकले बताएका छन् । उनका अनुसार विश्वविद्यालयका अन्य १० वटा आंगिक क्याम्पसमा भने मनोनयन दर्ता भएको छ ।

साथै कुनै क्याम्पसहरुमा एकल तथा कुनै क्याम्पसमा तालमेल गरेर संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिम विश्वविद्यालय मातहतका क्याम्पसहरुमा अगामी चैत ८ गते स्ववियु निर्वाचन हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार