मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • खेलकुद
  • विराट गोल्डकप विजेताले २० लाख पाउने

विराट गोल्डकप विजेताले २० लाख पाउने

  • बुधबार, चैत्र १, २०७९
विराट गोल्डकप विजेताले २० लाख पाउने

विराटनगर   –       यही चैत ९ गतेबाट हुने छैटौँ संस्करणको विराट गोल्डकपमा ८ टिमले सहभागिता जनाउने भएका छन् ।

विराटनगरस्थि सहिद रंगशालामा चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमले सहभागी जनाउने गोल्डकपका कार्यकारी निर्देशक सुवाशिष कोइरालाले जानकारी दिए । प्रतियोगितामा साविक विजेता एपिएफ क्लबसहित त्रिभुवन आर्मी र नेपाल पुलिसको पनि सहभागिता रहने छ । घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लब, संकटा क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यस्तै दुई भारतीय क्लबले पनि गोल्डकपमा सहभागिता जनाउने कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार दिल्ली एफसी र लुका सकर क्लब प्रतियोगितामा सहभागी हुनेछन् । गोल्डकप विजेताले अघिल्लो संस्करणको भन्दा बढी पुरस्कार पाउने छन् ।

गत संस्करणको उपाधि विजेताले नगद १५ लाख १५ हजार र उपविजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो । यो सिजनमा भने विजेताले अघिल्लो संस्करणको भन्दा ५ लाख बढी पाउने आयोजकले जनाएको छ । यस सिजनमा विजेताले कम्तिमा २० लाख र उप विजेताले १० लाख नगद पुरस्कार पाउने छन् ।

यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । खेलहरु रातिको समयमा फलर्ड लाइटमा सञ्चालन हुने छन् ।

८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुने छ । अहिले शहीद रंगशाला मर्मतको काम अन्तिम चरणमा पुगेको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिताले २०५७ सालदेखि विराट गोल्डकपको रूप लिएको हो ।

अघिल्ला संस्करणभन्दा भिन्न योपटक विद्यालयका युवा विद्यार्थीहरूलाई विराट गोल्डकपको इतिहासको जानकारी दिने उद्देश्यसहित गोल्डकप आयोजना गरिनेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख खर्च लाग्ने आयोजकको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार