काठमाडौँ — अन्धविश्वासका कारण महिलाहरूले चरम यातना भोग्नुपरेको छ । गम्भीर घाइते मात्र नभएर कतिपयको ज्यानसमेत गएको सरकारी तथ्यांक छ । प्रहरी प्रधान कार्यालयका अनुसार अन्धविश्वास (बोक्सीको आरोप, झारफुक) का कारण मुलुकभर पछिल्लो ३ वर्षमा ७ जनाको मृत्यु भइसकेको छ भने ५० जना अभियुक्त पक्राउ परेका छन् । ०७७/७८ मा २ जना, ०७८/७९ मा ४ र चालु आर्थिक वर्षमा १ जनाको मृत्यु भएको छ । १ जना घाइते छन् ।
राजधानीमै झारफुकको बहानामा यातना भोगेकी रूपा (सविता) राई डेढ महिना अस्पतालमा बसेर डिस्चार्ज भएकी छन् । ‘तातो तेल र पानीले पोलेको छातीको घाउ झन् गहिरिँदै गयो, तीनपल्ट अपरेसन भइसक्यो,’ उनले भनिन्, ‘गतसाता छातीमा प्लास्टिक सर्जरी गरेको छ ।’
सुनसरी बराहक्षेत्र नगरपालिका–६ कालाबन्जराकी ३३ वर्षीया उनी ६ महिनाअघि खाना खान मन नलाग्ने, निद्रा नलाग्ने र काप्ने समस्याले सताएपछि आफन्तको सल्लाहअनुसार झारफुक गर्न भन्दै काठमाडौं आएकी थिइन् । आफूलाई माता बताउने सचिना सारू मगर र रूपाकी दिदीकी छोरी संगमसमेत गरी ५ जनाले हात बाँधेर तातो तेल र पानी खन्याउँदा उनी सख्त घाइते भइन् ।
प्रहरी अस्पताल महाराजगन्जका चिकित्सकका अनुसार उनको शरीरको १८ प्रतिशत भाग जलेको थियो । उनलाई यातना दिनेमध्ये माता भनिने तारकेश्वर–८ जरंखु बस्ने १९ वर्षीया सचिना र सहयोगी २६ वर्षीय पदम आलेमगरलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । घटनामा संलग्न संगम राईलाई ४० हजार रुपैयाँ धरौटीमा छाडिएको छ । १८ वर्षीय सागर मगर र चितवन घर भई तारकेश्वर बस्ने १८ वर्षीय अजित तामाङलाई आफन्तलाई जिम्मा लगाइएको छ ।
पेट दुखेर अस्वस्थ भएकी ललितपुरको महालक्ष्मी–६ गासी लुभुकी सुष्मा श्रेष्ठ महर्जनलाई २०७८ भदौ १८ मा श्रीमान्ले धामी–झाँक्रीकहाँ पुर्याए । नागार्जुन–३ ठूलोभर्याङस्थित सानोबुबा नाता पर्ने दीपेन्द्रकुमार थिङको कोठामा लगेर झारफुकको नाममा यातना दिएको उनको भनाइ छ । शरीरमा बोक्सी चढेकाले भगाउनुपर्छ भन्दै थिङले श्रीमान्लाई हात समाउन लगाएर लट्ठीले कुटपिट गरेका थिए । त्यसक्रममा मलमूत्रसमेत अन्धविश्वासले लिँदै छ ज्यान खुवाइएको सुष्मा बताउँछिन् । घटनामा जनार्दन पाण्डे र दसनारायण महर्जन पनि संलग्न रहेको उनको भनाइ छ ।
श्रीमान् जितेन्द्रसहित थिङ र महर्जनलाई गत असोज १३ मा काठमाडौं जिल्ला अदालतले बोक्सीको आरोपसम्बन्धी कसुरमा ५/५ वर्ष कैद र २५/२५ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ भने पाण्डे ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । घर फर्किने अवस्था नरहेपछि सुष्मा जिल्ला अदालत ललितपुरमा अंश मुद्दा लडिरहेकी छन् ।
त्यसैगरी, २०७८ पुस २४ गते नागार्जुन नगरपालिका–१ रानीवन पानीट्यांकीमा उपचार गराउन भन्दै झारफुकका लागि राखिएकी सिन्धुपाल्चोक चौतारा घर भई मध्यपुर थिमि मगरगाउँ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको मृत्यु भयो । माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीको यातनाका कारण मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ । दुई सातासम्म झारफुक गर्ने घरमा राखेर ठकुरीले कुचो र रुद्राक्षको मालाले पटकपटक कुटपिट गरेको र बेहोस भएपछि मनमोहन मेमोरियल अस्पताल सीतापाइला पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । २०७८ माघ २० मा जिल्ला अदालत काठमाडौंले माता भनिने ठकुरीलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पुर्पक्ष थुनामा पठाएको छ ।
नागरिक सचेत भई यस्ता कार्यविरुद्ध लागे मात्रै त्यसमा संलग्न व्यक्ति निरुत्साहित हुने काठमाडौं प्रहरी उपरीक्षक दिनेशराज मैनाली बताउँछन् ।