• होमपेज
  • समाचार
  • ‘दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह तीन वर्षभित्रै’

‘दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह तीन वर्षभित्रै’

  • मङ्लबार, फाल्गुन २, २०७९
‘दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह तीन वर्षभित्रै’

कञ्चनपुर–  प्रधानमन्त्री पुष्पकमल दाहालले सुक्खा बन्दरगाह निर्माणको काम तीन वर्षभित्रै सकिने बताएका छन्। सोमबार दोधारा–चाँदनी–१ स्थित सुक्खा बन्दरगाह निर्माण स्थलमा पुगेर तीन वर्षभित्रै निर्माण पुरा हुने बताएका हुन्।

सुक्खा बन्दरगाह भारत सरकारले निर्माण गर्ने विषयमा छिट्टै सम्झौता हुने पनि प्रधानमन्त्री दाहालले बताए। सम्झौतामै तीन वर्षभित्रै निर्माण सम्पन्न हुने उल्लेख भएकाले तोकिएकै समयमा काम पुरा हुने उनले बताए। ‘सुक्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात मैले नै गरेको हो,’ सुक्खा बन्दरगाह निर्माणस्थल अवलोकनका लागि दोधारा–चाँदनी पुगेका दाहालले भने, ‘यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।’

सुक्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन सकिएको छ। बन्दरगाह निर्माणपछि दोधारा–चाँदनी वा सुदूरपश्चिमको मात्रै नभई सिंगो देशकै विकासमा योगदान पुग्ने प्रधानमन्त्रीले बताए। यस्तै, त्रिदेशीय साझेदारीको रणनीतिका रुपमा भारत र चीनको विकासबाट लाभ लिन सक्नुपर्ने उनले बताएका थिए। उनले महाकाली नदीमा निर्माणाधीन पक्की पुलको विषयमा पनि जानकारी लिएका छन्।

पुलको दुवैतर्फ निर्माणाधीन बाँधका विषयमा केही समस्या भएकाले यसको समाधान गर्न तत्काल मन्त्रिपरिषद्बाट निर्णय गरिने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए। कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सुरु औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटनका लागि महेन्द्रनगर पुगेका प्रधानमन्त्री दाहालले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाको पनि निरीक्षण गर्ने कार्यक्रम छ।

चर्चामा

सम्बन्धित समाचार