बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा गर्भवती मृत्यु प्रकरण:-सिकिस्त हुँदा बस, मरेपछि एम्बुलेन्स

बाजुरा गर्भवती मृत्यु प्रकरण:-सिकिस्त हुँदा बस, मरेपछि एम्बुलेन्स

  • बुधबार, माघ ११, २०७९
बाजुरा गर्भवती मृत्यु प्रकरण:-सिकिस्त हुँदा बस, मरेपछि एम्बुलेन्स

बाजुरा–बाजुराको बडिमालिका नगरपालिका-१ पिनालेखकी २६ वर्षीय जानकी लुवारलाई सुत्केरी व्यथाले च्यापेपछि आफन्तले माघ ८ गते जिल्ला अस्पताल बाजुरामा ल्याए ।

त्यसको ४ दिनअघि जिल्ला अस्पतालमै स्वास्थ्य परीक्षण गरेर उनी घर फर्केकी थिइन् । मुटुको समेत विरामी उनको स्वास्थ्यका बारेमा परिवार र अस्पताल जानकार थिए ।

८ महिनाको गर्भ रहेकी उनी ८ गते अकस्मात बिरामी परेकी थिइन् । अस्पताल आउँदा सिकिस्त थिइन् । स्वास्थ्यकर्मीले उनको उपचार बाजुरामा हुन नसक्ने भने र एम्बुलेन्समार्फत अन्तै लैजान भने । तर उनका श्रीमान रमेशले आफूसँग पैसा नभएकाले एम्बुलेन्समा अन्त लैजान नसक्ने भने । रमेश सिकिस्त श्रीमतीलाई अस्पतालमा छाडेर पैसाको जोहोमा निस्किए ।

९ गते ५ हजार ऋण पाएपछि रमेशले बसबाटै श्रीमतीलाई उपचारका लागि महेन्द्रनगर लैजाने निर्णय गरे र अस्पतालबाट निकालेर बस चढाए ।

अस्पतालमा कृतिम अक्सिजनको सहारामा रहेकी जानकीलाई बिना अक्सिजन बस चढाइएको थियो । बसमा उनलाई झनै गाह्रो भयो । जानकीको स्वास्थ्य झनै गम्भीर बन्दै गएको थियो । अछाम र डोटीको सिमानाको चौखुट्टेमा एउटा जीप पाइयो ।

बिरामी सिकिस्त भएकाले बस चालकसहितले अनुरोध गरेपछि जीपमा हालेर उनलाई अछामकै बयलपाटा अस्पताल लगियो ।

तर उनको बाटोमा नै मृत्यु भइसकेको अस्पतालले बतायो । बयलपाटा अस्पतालकी अहेब भवानी ढुंगानाका अनुसार जानकी र उनको पेटको बच्चाको बाटोमै मृत्यु भइसकेको थियो ।

बयलपाटाका एक चिकित्सकका अनुसार अक्सिजनसहित एम्बुलेन्समा राखेर ल्याएको भए उनलाई बचाउन पनि सकिन्थ्यो ।

बडिमालिका नगरपालिकाले नै सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्सको घोषणा गरेको छ । संघीय सरकारले पनि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

तर जानकीले न नगरपालिकाको एम्बुलेन्स पाइन् न त हवाइ उद्धार नै ।

सिकिस्त हुँदा बस चढेर उपचारका लागि जान बाध्य उनले मरेपछि मात्र एम्बुलेन्स पाइन् । उनको शवलाई बयलपाटाबाट शवबाहनमा राखेर बडिमालिका लगिएको थियो ।

जानकीको मृत्युमा जिल्ला अस्पताल बाजुराको पनि कमजोरी देखिएको छ । अस्पतालमा अक्सिजनको सहारामा राखिएको बिरामीलाई उसले बिना अक्सिजन बसमा जान दिएको थियो । जबकी सुत्केरीका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गर्नु पर्ने र ज्यान नै जोखिममा परेका गर्भवतीका लागि हवाई उद्धारको पहल उसले पनि गर्नु पर्ने थियो ।

अस्पतालका कर्मचारीले गर्भवती र परिवारलाई निशुल्क सेवाका बारेमा जानकारी नगराउँदा र परिवारले पनि आफूले पाउने सुविधाका बारेमा जानकारी नराख्दा समस्या भएको अस्पतालकै सूचना अधिकारी नृपराज गिरीले वताए । कमजोरी स्वीकार्दै उनले भने, ‘हामीले हवाइ उद्धार नभए पनि निशुल्क एम्बुलेन्स सेवा दिनुपर्ने थियो ।’

जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. दिप्रेन्द्र बुढाले भने समन्वयको अभावले सिकिस्त बिरामी बस चढेर जानु परेको बताए । ‘परिवारले हामीलाई जानकारी नै नदिई र समन्वय नै नगरी लगेका रहेछन्,’  बुढाले भने ।

चर्चामा

सम्बन्धित समाचार